सूचनाको शक्ति - The Power Of Information

        

बारबर्दियामा तयार भयो स्थानीय पाठ्यक्रम

बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिकाले ‘बारबर्दिया गौरव’ नामक स्थानीय पाठ्यक्रम तयार पारेको छ । स्थानीय विषय समेटेर पाठ्यक्रम निर्माण गरि सार्वजनिक गरेको पालिकाले जनाएको छ । नगरपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई आफ्नो पालिकामा भएको पुरातात्विक विषयको जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार गरेको हो ।

पाठ्यक्रममा ८ विषयसूची निर्माण गरेर अध्यापन गराइने बारबर्दिया नगरपालिका शिक्षा शाखाले जनाएको छ । यस पाठ्यक्रम निर्माण गर्नुको मुख्य उद्देश्य स्थानीय विषयवस्तु र आवश्यकता पहिचान गरी स्थानीय सहभागिता र विज्ञताको संलग्नतामा पाठ्यक्रम विकास गर्ने नगर शिक्षा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिए ।

यो पाठ्यक्रमबाट कक्षा १ देखि ८ सम्मका बालवालिकामा ठाकुरबाबा नगरपालिकाभित्रका सामाजिक, भौगोलिक, सास्कृतिक वैशिष्ट्यको पहिचान र सम्मान भावको विकास गर्न, यस क्षेत्रका ऐतिहासिक र प्राकृतिक सम्पदाहरुको संरक्षण, प्रवर्धन र विकासमा सहभागिता, स्वास्थ्य, प्रकृतिक विपत्तिप्रति सचेत रहने सक्षमताको विकास हुने उद्देश्य लिइएको छ ।

पाठ्यक्रमबाट बालबालिकामा हरित, स्वस्थ, सफा, शान्त र सुरक्षित विद्यालयको विकासमा जिम्मेवारपूर्ण आचरणको विकास हुने लक्ष्य लिइएको छ । स्थानीय पाठ्यक्रममा स्थानीय भूगोल र समाज, स्थानीय संस्कृती र प्रविधि, यहाँका महत्वपूर्ण सम्पदाहरू, विद्यालय र वातावरण, हामी र हाम्रो स्वास्थ्यका साथै स्थानीय सरकार र सामाजिक संस्थाका विविध विषय बस्तुहरु समेटिएको छ ।

शिक्षा प्रमुख गोसाईंले विद्यार्थीहरूलाई स्थानीय ज्ञान, सिपका बारेमा जानकारी दिई श्रमको सम्मान गर्ने भावनाको विकासको साथै स्थानीय पेशा, व्यवसाय, प्रविधि, मूल्यमान्यताका साथै वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने रहेको बताए ।

बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारू (कविर)ले पाठ्यक्रम कार्यान्वयनले विविध पक्षका बारेमा विद्यार्थीहरुलाई जानकारी दिई उनीहरुमा ज्ञान, सीप, अभिवृत्ति गराई कार्य गर्न सक्ने तत्परताको विकास गर्ने लक्ष्य लिइएको बताए । यसै शैक्षिक सत्रबाट बारबर्दियाका ५४ वटा संस्थागत र सामुदायिक विद्यालयमा पाठ्यक्रम लागू गरिने पनि उनको भनाइ छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १६:०९