सूचनाको शक्ति - The Power Of Information

        

आज सांसदहरुको कोरोना परीक्षण गरिँदै

काठमाडौं ।  संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको आज कोरोना परीक्षण गरिँदै छ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आज सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको बताए।

उनका अनुसार शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन विधीबाट कोरोना परीक्षण गरिने छ।

कोरोना परीक्षण गराउने सांसद तथा कर्मचारी करिब ७ सयजना हुने पाण्डेको भनाइ छ। संघीय संसदको बैठक बस्ने तयारी भएसँगै संसद सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागिएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो साउन ३ गते दिउँसो ४ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते प्रतिनिधि सभा पुनस्स्थापनाको फैसला सुनाउँदै १ हप्ताभित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो।

राष्ट्रिय सभाको पछिल्लो अधिवेशन भने गत असार १७ गते सुरु भएकोमा राष्ट्रपतिले असार २८ गते अधिवेशन अन्त्य गरिदिएकी थिइन्।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ०८:४९