सूचनाको शक्ति - The Power Of Information

        

सैनिक जवानद्वारा आफैँलाई गोली प्रहार

काठमाडौं । महोत्तरीमा एक सैनिक जवानले आफैँलाई गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जलेश्वर नगरपालिका–९ स्थित रणभिम गण पर्कौली ब्यारेकमा कार्यरत्त सैनिक जवान २३ वर्षीय अमिर तामाङले आफैँलाई गोली प्रहार गरेका हुन् ।

तामाङले ५.५ मिनि इन्सास हतियारबाट आफ्नै दाँया कन्चटमा गोलि प्रहार गरी आत्महत्या गरेका प्रहरीले जनाएको छ । रामेछाप लिखु गाउँपालिका–५ घर भएका तामाङ हाल आफ्ना बुवासँगै महोत्तरीमा बस्दै आएका थिए । उनका बुवा सोमबहादुर तामाङ पनि सैनिक जवान नै भएका प्रहरीले जनाएको छ ।

अमिरले बुधबार बिहान पौने ६ बजे आफैंलाई गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक अमिरका बुवा सोमबबहादुर सोहि गणमा पेरीमिटर पोष्टमा डिउटीमा रहेका बेला तामाङले आफैँलाई गोली हानेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोली घटनास्थल पुगेको छ । तमाङले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १०:११