सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बालीघरेदेखि मन्त्रीसम्म सीताको यात्रा, प्रदेशकै पहिलो दलित महिला मन्त्री

सुर्खेत । सीताकुमारी नेपालीको जन्म २०३१ साल माघमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राममा भएको हो । नेकपा माओवादी केन्द्रबाट राजनीतिमा उदाइरहेकी सीता हाल कर्णाली प्रदेशकी आन्तरिक मामिला, कानुन र युवा तथा खेलकुदमन्त्री हुन् । विसं २०७० सालमा समानुपातिकबाट प्रतिनिधित्व गर्दै संविधानसभा सदस्य बनेकी उनी हाल प्रदेशसभामा नेकपाको संसदीय दलको सचेतक हुँदै मन्त्री बनेकी हुन् ।

नेपालीको जन्म एक मध्यम वर्गीय दलित परिवारमा भएको थियो । परिवारमा आर्थिक अवस्था न्यून पनि र सम्पन्न पनि थिएन । उनको परिवारको मुख्य आयस्रोत भनेकै कृषि थियो । सानो छँदा आमासँगै उत्पादन भएको तरकारी बजारमा बेच्न जाने गरेको उनले बताइन् । उनले घर नजिकैको विद्यालय सुर्खेत शिक्षा क्याम्पसबाट अध्ययनको सुरुवात गरिन् । २०४६ सालमा बहुदल आउँदै गर्दा आफू आठ कक्षामा अध्ययनरत भएको उनी बताउँछिन् ।

आठ कक्षामा पढ्दै गर्दा विद्यालयमा एक दिन आन्दोलनकारीले कालो झण्डा गाडेको पहिलो पट्क देखेको बताइन् । उनललाई त्यतीबेला राजनीतिबारे केही थाहा थिएन । उनी विस्तारै पार्टीको कार्यक्रममा जोडिन थालिन् । जनवादी गीतहरू गाउने तथा गुन्गुनाउने गर्दै गर्दा पार्टीतिर मन गएको उनी बताउँछिन् । २०५१ सालमा उनले पार्टीको सदस्यतासमेत लिइन् । उक्त समयमा पार्टीमा हुँदा उनको नाम रक्षा थियो ।

‘घरको कामसँगै विभिन्न अभियान चलाउँदै पार्टीका कार्याक्रममा अगाडि बढेँ,’ उनले भनिन् ‘तत्कालीन माओवादीले जनयुद्ध सुरू भएको बेला जातीय भेदभाव हुने गरेको मनन् गरेकी थिएँ । सामुदायिक धारामा पानी भर्न नदिने, भर्दै गरेको गाग्री निकालेर फालिदिने गर्थे ।’ पहिलो पटक चालिसको दशकको अन्त्यतिर तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा पढ्दै गर्दा उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताइन् ।

त्यसपछि उनको राजनीति यात्रा सुरु भयो । विद्यार्थी राजनीतिमा छँदा नै उनी विद्रोही स्वभावकी थिइन् । १० वर्षे जनयुद्धमा उनको पार्टीको नाम रक्षा थियो । उनले ‘जीवन्त’सँग अन्तरजातीय विवाहसमेत गरिन् । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनी २०६४ सालको पहिलो संविधानसभा चुनावमा सुर्खेत क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । तर त्यतिबेला उनी थोरै मतान्तरले पराजित भइन् ।

त्यसयता निरन्तर माओवादीको राजनीतिमा सक्रिय रहेकी नेपाली २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा भने समानुपातिकबाट सभासद भइन् । संविधानसभा सदस्य भएपछि उनले दलित महिला क्षेत्रबाट प्रतिनिधित्व गर्दै संविधान लेखनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनी बताउँछिन् । संविधानसभा सभासद रहेकै बेला उनी माओवादी केन्द्रको प्रमुख सचेतकसमेत भइन् ।

केन्द्रीय प्रमुख सचेतक भएपछि पनि उनी देश संघीयतामा गएपछि प्रदेशको राजनीतिमा होमिइन् । कर्णाली प्रदेशसभा सदस्य रहेकी नेपाली २०७७ साल असोजमा कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रमुख सचेतक भइन् । त्यतिबेला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेलेकी नेपाली दलित अधिकारका लागि पनि लड्दै आएकी थिइन् ।

नेपाली दलित समुदायमा महिलाबाट कर्णालीमा पहिलो आन्तरिक मामिला, कानुन, र युवा तथा खेलकुद मन्त्री बन्न सफल भएकी छन् । वैशाख २९ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीताकुमारी नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्री, त्यस्तै आन्तरिक मामिला, कानुन तथा युवा, खेलकुद मन्त्रीमा बिन्दमान विष्टलाई र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका थिए ।

तर, उनीहरूले तीनै जनाले शपथ खान नपाउँदै बर्खास्त भए । फेरि मुख्यमन्त्री शाहीले जेष्ठ २ गते विष्टलाई ब्याक गर्दै आन्तरिक मामिला कानुन र युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका हुन् । नेपालको दलित महिला इतिहाससँगै मन्त्री नेपाली प्रदेशमा पनि दलित समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति बनेकी छन् ।

यसअघि प्रदेश १ मा जसमाया गजमेरलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । तर, जसमायाले केही समयमै राजीनामा दिनुप¥यो । समावेशी हकमा पनि कर्णाली प्रदेश पहिलो बनेको छ । दलित महिलालाई मन्त्री बनाएर तत्कालीन माओवादीले भनेजस्तो समावेशी र समानुपातिक मागलाई सम्बोधन गर्ने कर्णाली पहिलो प्रदेश बनेको हो । मन्त्री नेपालीले राजनीतिशास्त्रमा स्नात्तकोत्तर गर्नुका साथै कानुनमा पनि एलएलबी गरेकी छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ०६:२३