सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

सरकार ! मलाई अक्सिजन देउ, म चौंरी गाइको घ्यू र मार्सी चामल पठाइदिन्छु

दिपेश जलन । बाँके । यतिबेला म कोहलपुरमा छु । कोहलपुरदेखि नेपालगन्ज सम्मका दृश्यहरु हेर्दा–हेर्दा मेरा आँखा थाकिसके । समाचार सुन्दा–सुन्दा कान पाकिसके । मलाई लाग्छ, नेपालगन्ज बाँच्न चाहन्छ । नेपालगन्ज रेल गुडाउन चाहन्छ । धरहरा चढ्न जाने नागरिकलाई रेलबाट काठमाडौं पुर्याउन चाहन्छ, तर अहिले नेपालगन्ज अक्सिजन नपाएर निस्सासिएको छ । म स्वस्थ छु, तर पनि सास हुलिएजस्तो लागिरहेको छ ।

मेरो सास यी दृश्यले मात्र हुलिएको छैन, मेरो देशको सरकार र नाइकेहरुका गतिविधि र अराजनीतिक खेलका कारण पनि बन्द हुने स्थितिमा छ । सरकार कोरोना रोकथाम र संक्रमण रोक्न औषधि मुलो र सर–सामान खरिद र सावधानी अपनाउनुभन्दा छिटो बोडि ब्याग मगाउछ । अक्सिजन पलान्टमा काम गर्नेलाई खाना, पानी र भत्ता होइन, लास जलाउनेलाई भत्ताको बन्दोबस्त गरिरहेको छ ।

खासमा सरकारको नीति के हो? मेरो मतलव लास जलाउने मजदुरलाई श्रम शोषण गर्नुपर्छ, भन्नु होइन । उनीहरु पनि यो विषम परिस्थितिका हाम्रा मलाम पट्टी हुन । तर बोडि ब्याग छिटो, अन्य अत्यावश्यक औषधि र अक्सिजन प्लान्ट ढिलो, यस्तो पनि हुन्छ ? आज शासकसँग सत्ताबाहेक अरु केही कल्पना छ ? जनताले रबि लामिछाने, ज्ञानेन्द्र शाही, भिम उपाध्याय जस्तै अभियन्ताहरुलाई मानिरहेका छन् ।

व्यक्ति आफ्नो निजी सम्पत्ति र दिलो ज्यान दिन लागिरहेका छन्, सरकारी ढुकुटीको दोहनबाहेक अरू थोक गर्न सकिरहेको छैन । यो चुनाव होइन, महामारी हो । अब नगरे कहिले गर्ने ? धन्न लकडाउन छ, रोगको डर छ । नत्र अतिवादी शासन सत्ताको चिरफार गर्ने, अहंमताको भोग मेटाउन जनता रोडमा आउन तल्लिन छन् ।

समय धेरै छैन । सोच–विचार गरेर जनता बचाउने, आफ्ना भोट सुरक्षित गर्न भने सरकारले जनचाहना अनुरुप काम गरोस् । नत्र त्यसको असर छोरा–नातीको पालासम्म पर्ला । सत्ताको खेल वरपर रहेका प्रचण्डलाई पनि प्रश्न छ, कहाँ छ तिम्रा जनयुद्धले जन्माएका डाक्टर ? कहाँ छन् तिम्रा घरेलु औषधि र मोडेल एरियाका स्रोत साधनहरु ? तिमीले चुच्चे नक्सा देखाउने र घमण्डको धरहरा चढ्ने बेला होइन, यो ।

आफूले–आफूलाई नचिन्ने, आफू भाले–पोथी वा तेस्रो लिङ्गी के हुँ भनेर अलमलिने बेला पनि होइन । डाक्टर बचे पो चिरफार गरेर लिङ्ग छुट्याउलान् । जनता बचे पो तिम्रा भोट सुरक्षित होलान् । प्रमुख प्रतिपक्षको भूमिका कुलो र पानी जतिकै ठुलो र महत्त्वपूर्ण हुन्छ । सरकारी भाग खाने, साँढेलाई छाडा छोड्दिने ? जे गर–गर ! हरियो खाए खा, जे खाए खा तर मेरो भाग लगा, नेपाली पैसादेखि विदेशी डलरसम्म ।

राजदूतदेखि सबै निकायमा समान भाग दे भन्न भ्याउने तर जनता बिरामी भएको बेडमा अक्सिजन पुर्याउने कुरामा ध्यान नदिने ? हामी भए अक्सिजन चाहिँदैन । हामी भए बलत्कार हुँदैन । हामी भए सरकार चल्छ । हामी भए सत्ता टिक्छ । हामी भए पार्टी पनि चल्छ भन्ने सोचले महामारी नियन्त्रण बाहिर गएको छ । नेपालगन्जमा नागरिकको बिचल्ली छ । कसलाई भन्नु ? कसलाई सुनाउनु ?

मसँग भएको त्यही एक भोट हो । म त्यहि एक भोटको धनी छु । अब हरेक नागरिकले १६ वर्ष पुग्नेबित्तिकै पार्टी छान्नेछ । १८ वर्ष पुगेको दिन अक्सिजनमा भोट हाल्नेछ । म बाँचुज्जेल मेरो छोरा–नानी, मेरो आफन्त, मेरा नाता–गोता, साथी–भाई, ईष्टमित्र सबै–सबैलाई यही अक्सिजनमा भोट हाल्न लगाउँनेछु । यो मेरो प्रतिज्ञा हो । तिमीलाई पो, त्यो पर्दैन । त्यो बेला म कति भोटको धनी हुन्छु, हिसाब गरेर राख ।

लास जलाउनेलाई एक हजार होइन, सास फेर्नलाई नौ सयको अक्सिजन ल्याइदेउ सकिन्छ भने । अलिकति चेत छ भने । आज देशलाई माया गर्नेहरु चिहानमा जलिरहेका छन् । नागरिकले सास दिएर भएन । प्राण त्यागेर भएन । बिरामीले अक्सिजनको पाइप कुरिरहे । बेड कुरिरहे । हेलिकप्टर खोजेनन् । झण्डावाला गाडी रोजेनन् । बस्, सास खोजेका हुन्, एम्बुलेन्स खोजेका हुन् ।

मास्कले रेटिएको कान, पिपिइले पाकेको शरीरले बिरामीको सेवा गर्दै हिँड्ने स्वास्थ्यकर्मीले हौसला खोजेका छन् । तर मेरो देशका प्रधानमन्त्री जनतासामु प्रतिज्ञासम्म गर्दैनन् । आफ्ना आसे–पासेलाई टिकाउन लाभका पद बाँड्दै हिँड्दा प्रधानमन्त्रीका आँखाले देखेनन्, अक्सिजन अभाव भएको ? अपराधीलाई उपहार स्वरुप मन्त्री, हत्यारालाई आम माफी दिने तर जनतालाई अक्सिजन नदिने ? अहिले धरहरा मेरो गौरव होइन ।

दुर–दराजलाई आज पनि वाशिङ्टन डिसी र काठमाडौं उस्तै हुन् । सगरमाथा र धरहरा उस्तै हुन्, तर प्रमुख विषय भनेको अक्सिजन हो । एम्बुलेन्स नै हो । अस्पताल हो । म जुम्लीको छोरो हुँ । सरकार ! सकिन्छ भने मेरो भागको अक्सिजन देउ । बदलामा म हुम्लाको चौंरी गाइको घ्यू पठाइदिउँला । जुम्लाको मार्सी चामलको भात त खाएकै छौ, सिमीको स्वाद चखाइदिउँला । यतिले पनि पुगेन भने दिने चिज अरु पनि छन् ।

तिमी मात्र, अक्सिजन त देउ ! मेरा बा कालापहाड गएका थिए, हाम्रो खुुसीको लागि । उतै रोगले थला परेर मृत्युसँग लडिरहेका छन् । बा सधैँ दिल्ली भन्छन्, इन्डिया भन्छन् । तर, काठमाडौं कहाँ छ, जान्दैनन् । मलाई शासन–सत्ता के काम ? हामीलाई हिजो चुनावको बेला ’गाउँ–गाउँमा सिंहदरबार’ भनिन्थ्यो । आज गाउँमा सिंहमात्रै छन् । मेरो नागरिता बनाउन, भाइको जन्मदर्ता बनाउन वा सिफारिस लिन नै मेरो बाले कमाएको आधा महिनाको खर्च जान्छ ।

अहिले हामी यी सब रोक्न तयार छौं । बदलामा अभाव भएको ठाउँमा अक्सिजन मात्र पठाइदिए पुग्छ । तिम्रो सत्तामा आज पनि रुखले कार्वनडाइअक्साईड दिन्छ भन्नेहरु नै दोहोरिएका छन् । रुख काट्ने तस्करहरुसँग तिम्रो भान्साको साइनो छ । तिनीहरु अक्सिजनभन्दा पहिला घाटको तयारी गरिरहेका छन् । म डा.गोविन्द केसी माग्छु । मलाई डा.केसीको खाँचो छ । जुन माग हिजो उनले राखेका थिए, आज यो प्रमाणित हुँदैछ । एक हस्पिटल, एक एम्बुलेन्स र अक्सिजनमा तिम्रो ध्यान जान्छ कि नाई ?

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार १८:४७

सिफारिस