सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको मृत्युले भारतमा बनायो रेकर्ड

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले सबैभन्दा बढी प्रभावित छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित मृतकको संख्याले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकैदिन भारतमा ४ हजार १९१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

उक्त संख्या विश्वभरमा कोरोना संक्रमणबाट एकैदिन मर्नेहरुको सबैभन्दा बढी संख्या हो ।  भारतमा विश्वमै पहिलोपटक कोरोना संक्रमणबाट एकैदिन ४ हजारभन्दा बढीको ज्यान गएको हो ।

शुक्रबार भारतमा कुल ४ लाख १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, भारतमा २५ दिनको अन्तरालमा दैनिक १ हजारबाट ४ हजार जनासम्मको ज्यान गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १९ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै भारतमा १ करोड ७९ लाखभन्दा बढीले कोरोना संक्रमण जितेका छन् ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड १८ लाख पुगेको छ । तीमध्ये २ लाख ३८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अहिले भारतमा ३७ लाख २१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ०८:३२