सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस पनि ‘ताजा जनादेश’कै पक्षमा

काठमाडौं । पुनर्स्थापित संसद्ले काम गर्न नसकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकमा चुनावमा जाने प्रस्ताव गरेको अर्को दिन संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि ताजा जनादेशकै पक्षमा देखिएको छ ।

राष्ट्रपतिले मंगलबार बोलाएको सर्वदलीय बैठकमा भने कांग्रेस सभापति शेरबहादुर देउवा बोलेका थिएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले भने संसद् फेरि विघटन गरेर चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावमा आपत्ति जनाएका थिए ।

सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेको एक महिना नपुग्दै प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच चुनावी एजेन्डामा एकरूपता देखिएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन सरकारको पहल भए पनि त्यसबारे ठोस निष्कर्षमा पुग्न नसकिरहेका वेला कांग्रेसले ताजा जनादेशलाई अघि सारेको हो । पार्टीका नेता कार्यकर्ता, माओवादी केन्द्र र जसपाले समेत ओलीको विकल्पमा अग्रसरता लिन आग्रह गर्दा पनि सभापति देउवाले ठोस पहल थालेका छैनन् ।

तर, देउवाका विश्वासपात्र मानिने केन्द्रीय सदस्य रमेश लेखकले एमाले र जसपाभित्र सरकार गठनका विषयमा फरक–फरक मत रहेको र बहुमतको सरकार बन्न सक्ने अवस्था नभएकाले ताजा जनादेशको विकल्प नरहेको बताए ।

‘पार्टीहरूको आन्तरिक द्वन्द्व संसद्मा आएको छ, यस्तो अवस्थामा संसद् कसरी गतिशील हुन सक्छ ? न त यसले वैकल्पिक सरकार दिन सक्छ, न त स्थिरता र विकास नै,’ लेखकले नयाँ पत्रिकासँग भने, ‘त्यसैले मुलुकलाई निकास र संसद्लाई गतिशील बनाउन ताजा जनादेशमा जानुको विकल्प छैन । अन्यथा संसदीय व्यवस्था नै गलत हो भन्ने सोचलाई बल पुग्न सक्छ ।’

उनले सत्तारुढ दल विभाजित अवस्थामा पुनस्र्थापित प्रतिनिधिसभाले स्थिरता र निकास दिन नसक्ने दाबी गरे । ‘प्रतिनिधिसभामा ६४ प्रतिशत मत भएको दल अहिले औपचारिक रूपमा दुईवटा भएको छ र अनौपचारिक रूपमा तीनवटा भएको देखिन्छ, जब कि ६४ प्रतिशत मत भएको दलले नै स्थिरता दिन सकेन भने अब त्रिशंकु अवस्थामा पुगेको प्रतिनिधिसभाले कसरी स्थिरता दिन सक्छ ?’ लेखकले भने, ‘त्यसैले यसले धेरै काम गर्न सक्छ जस्तो मलाई लाग्दैन, निकासको बाटो भनेको ‘अर्ली इलेक्सन’ नै हो ।’

तर, कांग्रेसभित्र यो मुद्दामा एकरूपता छैन । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधानको त्यही व्यवस्थाबमोजिम कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने बताएका छन् ।

‘मुलुकको निकासको अन्तिम विकल्प भनेकै निर्वाचन हो । अब निर्वाचनमुखी सरकार निर्माण हुनुपर्छ, कांग्रेस निर्वाचनमुखी सरकारको पक्षमा छ,’ कोइरालाले भने ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल अहिलेको अवस्थामा जे–जे भए पनि ओलीको विकल्प खोज्नु पहिलो सर्त हुनुपर्ने बताए । ‘ओलीको नेतृत्वमा चुनावमा जान सकिँदैन, त्यो उहाँलाई धाँधली गर्न सजिलो बनाउने कुरा मात्रै हो ।

त्यसैले संकटको गाँठो फुकाउनका लागि उत्तम विकल्प भनेको त निर्वाचन नै हो । तर, पहिले ओलीको विकल्प खोज्नुपर्छ, त्यसका लागि कांग्रेसले आफ्नै नेतृत्व हुनुपर्ने अडान लिनुहुन्नँ, अरूलाई दिन पनि तयार हुनुपर्छ,’ पौडेलले भने । नयाँ पत्रिका

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार ०७:१०