काठमाडौं । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो ।
बोर्डका उपाध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिए । हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ । बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा दुई तीन महिनाको हाराहारीमा मात्र क्षति हुनेछ ।
विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो । एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ । हाल जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको जानकारी बोर्डले दिएको छ । सबै विद्यार्थीको विवरण यकिन गर्न चैतसम्म लाग्ने आकलन गरिएको छ । त्यसपछि मात्र आगामी वर्ष एसईई दिने विद्यार्थीको सङ्ख्या यकिन हुनेछ ।
यस पटक कोरोना भाइरस सङ्क्रमणका कारण विद्यार्थीको सङ्ख्या घट्न सक्ने प्रारम्भिक आकलन गरिए पनि त्यसको निधो हुन सकेको छैन । सरकारले एउटा विद्यालय छोडेर अर्को विद्यालय गएको विद्यार्थीलाई लक्षित गरी यस पटक कक्षा १० मा समेत स्थानान्तरणको सुविधा दिने निर्णय यसअघि नै गरिसकेको छ । हाल कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीको रजिस्ट्रेसन भर्ने काम भइरहेको छ । बोर्डले फागुनभित्र रजिस्ट्रेसन फाराम भर्ने समय विद्यार्थीलाई उपलब्ध गराएको छ ।
फारम भरेपछि सबै खालका तयारी पूरा गरी जेठमा कक्षा १२ को समेत परीक्षा लिन सकिने आकलन बोर्डका पदाधिकारीले गरेका छन् । कक्षा ११ को अन्तिम परीक्षा भने सम्बद्ध विद्यालयले नै सञ्चालन गर्नेछ । गत वर्ष सरकारले कक्षा ११ को परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतको अधिकार सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरेको थियो । सरकारले नयाँ कुनै नीतिगत निर्णय गरेबाहेक कक्षा ११ को परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डका उपाध्यक्ष पौडेलले दिए ।
।