काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सहज वातावरण बनेमा सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ ।
महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताउनुभएको हो ।
चन्दले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो ।
यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’
सरकारले यस अघि नै विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइसकेको छ । यसअघि खानेपानी मन्त्री मणि थापाले नख्खु कारागार गएर चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई भेट्नुभएको थियो ।
सरकारले दुई वर्षअघि नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।
।