सूचनाको शक्ति - The Power Of Information

        

झोलुङ्गे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाई

बझाङ । जयपृथ्वी नगरपालिकाले झोलुङ्गे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाई भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतिपारिका बस्तीहरुलाई जोड्न बन्न लागेको पानकोट मोटरेवल पुल यसै बर्षको चैत महिनामा सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएको थियो ।

लामो समयपछि निर्माण हुन लागेको मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र बाँकी रहेकाले ढलान गर्ने कच्चा पदार्थ गिट्टी, बालुवा, सिमेन्ट लगायतका सामानहरु सेतिपारिसम्म पुर्याउनका लागि गाडीहरु नअटाउने भएकाले झोलुङ्गे हटाउनुपर्ने निर्माण कम्पनीले जनाएको छ ।

सेती नदीपारि रहेका स्थानीय तहलाई जोडने गरी २०७३ असार महिनामा निर्माण सम्पन्न हुने गरि उक्त पुलको ठेक्का सम्झौता भएको थियो । डिजाइनमा त्रुटि भएकाले पुल निर्माण हुन नसकेपछि गत बर्ष डिजाइन परिवर्तन गरी पुनः टेन्डर भएर इलाइट कन्स्ट्रक्सनले निर्माण कार्य अघि बढाएको थियो ।

झन्डै ८ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको ६९ मिटर लम्बाईको पानकोट पुल यसै बर्षको चैत महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम अघि बढाएको थियो । मोटरेवल पुलसँगै रहेको झोलुङ्गे पुल नगरपालिकाले हटाउन चासो नदिँदा निर्माण कार्यमा ढिलाई भइरहेको निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधि कपिल राइले बताए ।

राइले भने, ‘मोटरेवल पुलसँगै झोलुङ्गे पुलका कारण सामान ढुवानी गर्न सकिएको छैन । नजिकै अर्को वैकल्पिक बाटो छैन । झोलुङ्गे पुल नहटाई काम गर्न सकिने अवस्था छैन । हामीले यस विषयमा नगर प्रमुख विरेन्द्र खडकालाई जानकारी गराएका छौं । उहाँले नगरपालिकाले हटाउँछ भन्नु भएको छ तर कहिलेसम्म हटाउने भन्ने थाहा छैन ।’

पुलको सबै काम सकिएको र अब ढलानको काममात्र बाँकी छ । पुलमा ढलान गर्नलाई झोलुङ्गे पुलले बाधा गरेका कारण आवश्यक साम्रागी पुलमा पुर्याउन नसकिएको निर्माण कम्पनीले जनाएको छ । उक्त पुल नहटाएसम्म मोटरेवल पुल निर्माण कार्य सम्झौता अवधिभित्र सम्पन्न गर्न समस्या भइरहेको राइले बताी ।

जयपृथ्वी नगरपालिका नगर प्रमूख विरेन्द्रबहादुर खड्काले यस विषयमा ठेकदार कम्पनीका प्रतिनिधिसँग निर्माणस्थलमै गएर हटाई दिने कुरा भएको बताए । उनले भने, ‘झोलुङ्गे पुलका कारण निर्माण कार्यमा असहज भयो । हामीले हटाउँदा स्थानीयले काममा असहज गर्लान् भन्ने डर छ । झोलुङ्गे पुल हटाउने विषयमा छलफल भइरहेको छ ।’

नगर प्रमूख खड्काले पुल निकाल्ने कि काट्ने के गर्दा राम्रो हुन्छ भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘निर्माण कम्पनीलाई हटाउन भनेका छौं । त्यसको खर्च नगरपालिकाले व्यहोर्छ ।’ पुल हटाउँदा लाग्ने खर्चको हिसाब गरेर निर्माण कम्पनीलाई भेट्न बोलाउँदा नआएको बताए ।

‘झोलुङगे पुल काट्यो भने पानीमा खस्ने र पानी जमेर खतरा बढ्ने भएकाले निकाल्ने कुरा भएको छ । उहाँले कसरी चासो देखाएन भनेर भन्नुभयो मलाई थाहा भएन । यस विषयमा नगरपालिका गम्भीर छ ।’ अब चाँडै ठेकदार कम्पनीका प्रतिनिधिसँग भेटेर विषयमा थप कुरा बुझ्ने मेयर खड्काले बताए ।

क्रस मोटरेवल पुल निर्माण सम्पन्न पश्चात पानकोट पुल सेती नदीमा बनेकोे पहिलो हुनेछ । यो पुल बनेपछि बझाङको सेतीपारिका साईपाल, तल्कोट, मष्टा, खप्तडछान्ना, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकाबासीले यातायातको सहजै सुविधा पाउनेछन् । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेपछि पुल बन्ने आशा पलाएको स्थानीय नरेन्द्र उपाध्यायले बताए ।

उनले सेती नदीपारिका स्थानीय तहहरुमा सडक सञ्जालको पहुँच भए पनि सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधनहरु बारपार गर्न सकेका छैनन् । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि अस्थायी काठेपुल राखेर यातायातका साधनहरूले ओहरदोहर गरे पनि जेठ महिनामा काठे पुल बगाएपछि यातायातका सेवा प्रभावित हुने गरेको बताए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ११:१९