सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा गर्भपतनविरोधी मुख्य नीति रद्द

राष्ट्रपति बाइडेनद्वारा जारी कार्यकारी आदेशको प्रत्यक्ष प्रभाव नेपालमा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार एक कार्यकारी आदेश जारी गर्दै पूर्व राष्ट्रपति ट्रम्पले ल्याएको गर्भपतनविरोधी मुख्य नीतिलाई रद्द गरिदिएका छन् । ‘ग्लोबल ग्याग नियम’का रुपमा समेत परिचित ट्रम्पको उक्त नीतिले अमेरिकाबाट संघीय सहायता प्राप्त गर्ने एजेन्सीहरुलाई गर्भपतनबारेका कुनै सेवा प्रदान गर्न र गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाएको थियो ।

बाइडेनको कार्यकारी आदेशले विदेशमा रहेका संस्थाहरुलाई प्रजनन स्वास्थ्यबारे सेवाहरु प्रदान गर्नका लागि अमेरिकी सहायता प्राप्त गर्नका लागि सहज बनाएको छ । अमेरिकी सहायता प्राप्त गरेका संस्थालाई गर्भपतनबारे छलफल समेत गर्नमा रोक लगाइएकाले नेपालमा प्रजनन स्वास्थ्यबारे सेवा प्रदान गरिरहेका विभिन्न संस्थाहरु प्रभावित भएका थिए ।

जसका कारण नेपाली महिलाहरुका लागि प्रजनन स्वास्थ्यबारे कार्यक्रम चलाइरहेका संस्थाहरुले आफ्ना कार्यक्रममा स्वरुप नै परिवर्तन गर्नुपरेको थियो । साथै ग्रामिण क्षेत्रका कैयन नेपाली महिलाहरु प्रजनन स्वास्थ्यबारे सेवा र जानकारी लिनबाट समेत वञ्चित हुन पुगेका थिए । ग्लोबल ग्याग नियम सन् १९८४ मा तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले लागु गरेका थिए । त्यो यता प्राय हरेक डेमोक्रेटिक राष्ट्रपतिले यसलाई रद्द गर्दै आएका छन् भने रिपब्लिकन राष्ट्रपतिले यसलाई लागु गराउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले यो नियमलाई अझ कडा बनाए ।

अन्य रिपब्लिकन राष्ट्रपतिहरुले यो नियम अन्तर्राष्ट्रिय गैरसरकारी परिवार नियोजन संस्थाहरुलाईमात्र लागु गराएका थिए तर ट्रम्पले अमेरिकी सहायता प्राप्त गर्ने कुनै पनि संस्थालाई गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाए । सन् २०१९ को मार्चमा त ट्रम्पले यो नियममा अझ कडाई गरेका थिए । अमेरिकाबाट आर्थिक सहायता प्राप्त गर्ने संस्थाले सहयोग गरेका स्थानीय सघसंस्थालाई समेत गर्भपतनबारे छलफल गर्नमा रोक लगाए । जसका कारण नेपालमा अमेरिकी सहायतामा संचालन भइरहेका कैयन संघसंस्थाले प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रममा कटौती गर्नुपरेको थियो ।

बाइडेनको कार्यकारी आदेशको पूर्ण पाठ

ट्रम्पको नीतिका कारण प्रजनन स्वास्थ्यबारे युएसएआईडीको सहयोगमा नेपालमा संचालन भइरहेका कैयन रेडियो तथा टेलिभिजन कार्यक्रमहरुले समेत आफ्नो स्वरुप परिवर्तन गर्नुपरेको थियो । नेपालमा युएसएआइडीले जनस्वास्थ्य र महिला स्वास्थ्य सम्बन्धित विभिन्न कार्यक्रमहरुमा आशिंक रुपमा सहयोग गर्दै आएको छ ।

ट्रम्पले ल्याएको नीतिका कारण युएसएआईडीले दर्जन बढी जिल्लामा सहयोग रोकेको थियो । बाइडेनको बिहीबारको कार्यकारी आदेशपछि अब पुन युएसएआईडीले नेपालमा प्रजनन स्वास्थ्य र गर्भपतनबारे जनचेतनामुलक काम गरिरहेका वा महिला स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुलाई सहयोग उपलब्ध गराउन सक्ने भएको छ । परिवार नियोजनका क्षेत्रमा काम गरिरहेका गैरनाफामुलक संस्थाहरुले अमेरिकी सहायता प्राप्त गर्न सक्ने भएका छन् ।

अब अमेरिकी सहायतामा नेपालका महिलाहरुले पनि प्रजनन स्वास्थ्यबारे पूर्ण सुविधा र सुचनाहरु लिन सक्नेछन् । युएसएआईडीमार्फत पुनः परिवार नियोजन र महिला स्वास्थ्यबारे फण्ड उपलब्ध हुनेछ भने अमेरिकी सहायता प्राप्त संघसंस्थाहरुले गर्भपतनबारे जानकारी र विभिन्न सल्लाह तथा सुचनाहरु प्रदान गर्न सक्नेछन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार ११:१९