सूचनाको शक्ति - The Power Of Information

        

पश्चिमी र स्थानीय वायुको प्रभाव : हल्का वर्षा हुनसक्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।   तराईका भू–भागमा हुसु–कुहिरो लागि रहेको  छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २   र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।  सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  आज राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भू–भागमा सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली हुने देखिन्छ।

प्रदेश नं १ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार ०७:२४