सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा निजी वनप्रति आकर्षण बढ्दो

बाँके । बाँकेमा निजी वनप्रति आकर्षण बढ्दै गएको छ । कम मेहनतमा अन्य खेतीभन्दा १०औँ गुणा बढी आम्दानी हुने भएपछि निजी वनप्रति आकर्षण बढ्दै गएको हो । खोला तथा नदी किनारमा रुख रोप्दै आएका किसानले पछिल्ला दिनमा उब्जनी कम हुने खेतबारीमा पनि रुख रोप्न थालेका छन् ।

सरकारले पछिल्ला वर्षमा खेतबारीमा रुख लगाउने किसान र व्यवसायीलाई प्रोत्साहित गर्दै आएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बाँकेमा १२४ वटा निजी वन दर्ता भएका छन् । त्यसमा ७० दशमलव ९१ हेक्टर क्षेत्रफलमा रूख लगाउने कार्य भएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख वन अधिकृत राजु क्षेत्रीले बताए ।

‘यो दर्ता भएर लगाइएको निजी वनको तथ्याङ्क मात्र हो,’ उनले भने, ‘दर्ता नगरी रूख लगाउनेको सङ्ख्या १०औं गुणा बढी छ ।’ वन कार्यालयले पनि असार–साउनमा देशैभर विभिन्न जातका रुखका विरुवा निःशुल्क वितरण गर्ने गरेको छ । डिभिजन वन कार्यालय बाँकेले वर्षेनी करिब चार लाख विरुवा उत्पादन गरी रुख खेती गर्न इच्छुक किसानलाई दिँदै आएको छ ।

सरकारले २३ प्रजातिका रुख कटान गर्न र काठ दाउरा ओसारपसार गर्न वन कार्यालयबाट कटान आदेश र छुटपुर्जी लिनु नपर्ने कानूनी व्यवस्था गरेपछि रुख खेती फस्टाएको हो । तर अझै पनि काठ तथा दाउरा ओसारपसार गर्दा दुःख दिने क्रम नरोकिएको गुनासो किसानको छ । खाद्यान्न, तरकारी र फलफूल खेतीजस्तै पछिल्ला दिनमा रुख लगाउने किसान र व्यवसायी बढ्दै गएका छन् ।

रुख खेतीमा धान, गहुँ, तरकारी जस्ता बालीमा जस्तो बढी मेहनत गर्नुपर्दैन । रोग र कीराले नोक्सान गर्ने सम्भावना कम हुन्छ । मुनाफा भने निक्कै बढी छ । त्यसका लागि रुख रोपेको ७ देखि १० वर्ष पर्खनुपर्छ । युवाको ठूलो सङ्ख्या विदेश पलायन भएकाले खेतीपाती गर्ने जनशक्ति नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता छ । त्यसैले किसानले पनि खेतबारीमा रुख रोप्न लागेका हुन् ।

माग अनुसार काठ स्वदेशमा उपलब्ध नहुँदा नेपालका प्लाइउड कारखानाले ठूलो परिमाणमा कच्चा पदार्थ भारतबाट ल्याउँदै आएका छन् । त्यसैले पनि सङ्घीय र प्रदेश सरकारले रुख खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउन प्रोत्साहित गर्ने नीति र कार्यक्रम सञ्चालन गर्दै आएका छन् । व्यावसायिक रुपमा रुख खेती फस्टाउँदै गए खेती गर्ने किसानसँगै नेपाली उद्यमी व्यवसायी लाभान्वित हुने र वैदेशिक घाटा कम गर्न समेत सहयोग पुग्नेछ ।

यसैगरी बर्दियामा समेत निजी वनतर्फ युवाको आकर्षण बढ्दै गएको छ । बर्दियामा १४६ वटा निजी वन दर्ता भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए । उनका अनुसार बर्दियामा १४२.९ हेक्टर क्षेत्रफलमा निजी वन दर्ता भएका छन् । १४ लाख २९ हजार २५९ वर्गमिटरमा निजी वन लगाएको वाग्लेले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १४:४८