काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको छैठौं बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । मङ्सिर २१ गते भने उपस्थिति थिएनन् ।
पत्र लेखेर आफू नआउनाको कारण खुलाएका थिए । “उहाँले बैठकमा उपस्थित हुँदिन, जान्नँ भनेर कहिल्यै भन्नुभएको छैन । आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुनुहुन्छ,” स्थायी कमिटी सदस्य तथा पार्टी संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले भने ।
त्यस्तै स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि प्रधानमन्त्री उपस्थित हुने जानकारी पाएको बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा आउने सूचना पाएका छौं । यसबीचमा भएका प्रगतिबारे म अनभिज्ञ छु,” उनले भने ।
दुवै पक्ष अडानमा यथावत
मङ्सिर २१ गते सात दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावसहित सबै दस्तावेजहरू अध्ययनका लागि समय छुट्टयाइएको थियो ।
दस्तावेज अध्ययनका अतिरिक्त यसबीचमा सहमति खोज्ने प्रयास पनि भए । ओली–प्रचण्डबीच एक्लाएक्लै छलफल पनि भयो । तर, दुवै पक्ष आ–आफ्नो अडानमा पूर्ववत् अवस्थामा रहेको नेकपाका नेताहरू बताउँछन् ।
सत्यपाटी ।