सूचनाको शक्ति - The Power Of Information

        

अपडेट : त्रिशूलीमा भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला

काठमाडौं । त्रिशुली नदीमा पिकअप भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको छ । नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षीय सूर्य के.सी र ३३ वर्षीया जमुना रोक्काको शव पानीभित्र रहेको जीपबाट निकालिएको शसस्त्र प्रहरीका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी मुराली बस्नेतले जानकारी दिए ।

१५ वर्षीया विरामी जिनिसा रोक्का भने अझै बेपत्ता छिन् । उनको खोजी जारी रहेको एसपी बस्नेतले बताए । प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना- ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली  नदीमा खसेको थियो ।

उक्त दुर्घटनामा एक जना भने पौडिएर बाँच्न सफल भएका छन् । भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकलकलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार १०:५७