काठमाडौं । पटक पटक अन्यौलमा परेको नेकपाको सचिवालय बैठक भोली दिउँसो चार बजेका लागि तय गरिएको छ । महासचिव विष्णु पौडेलले भोली दिउँसो ४ बजेपछि बस्नेगरी बैठक बोलाएका हुन् ।
सचिवालयका असन्तुष्ट पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल बैठक बोलाउन पटक पटक आग्रह गर्दा पनि यसअघि अस्विकार गर्दै आएका थिए । तर आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बैठक बस्ने तयारी भएपछि ओलीको निर्देशनमा पौडेलले बैठक बोलाएका हुन्।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अनिच्छाका बाबजुद असन्तुष्ट पक्षको पटक पटकको दवावका कारण बैठक बस्ने तय भएको हो । नेकपामा अध्यक्ष प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले तत्काल बैठक बोलाउन ओलीलाई पटक पटक आग्रह गर्दा पनि उनले अस्विकार गरेपछि केही दिन अगाडि लिखित आग्रह गरेका थिए ।
उनले आग्रहलाई वेवास्ता गरेपछि अध्यक्ष दाहालले बोलाउनु भएको बैठक अव नबस्ने संभावना रहेको छ । असन्तुष्ट पक्षले आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको थियो ।
सत्यपाटी ।