सूचनाको शक्ति - The Power Of Information

        

महिला उद्यम

पुष्प व्यवसायी विन्दुको सफलता : भारतीय फूल विस्थापित गर्दै ‘चर्ति फ्लोरा’

बाँके । सयपत्री तथा मखमली फूलमा बाँके जिल्ला आत्मनिर्भर बन्दै गएको छ । यसैले अहिलेको तिहारमा बाँकेमा भारतीय फूल नभित्रिने भएको छ । बाँकेमा खपत हुने सयपत्री र मखमली फूल भारतबाट आउन प्रायः छाडिसकेको छ । बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल आउन छाडेको छ ।

सभा समारोह, जन्मदिन, विवाह, पूजाआजा, व्रतबन्ध, भोज लगायतका कार्यहरुमा फूल प्रयोग हुन थालेपछि पछिल्लो समय बाँकेमा मखमली तथा सयपत्री फूल खेतीतर्फ किसानको आकर्षण पनि बढेको छ । होटल, कार्यालय, पसलमा समेत अहिले फूलको माग बढेको र सबैभन्दा बढि सयपत्री तथा मखमली फूलको कारोबार हुने गरेको पुष्प व्यवसायीहरु बताउँछन् ।

तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी । हरेक वर्ष तिहारमा मात्र नेपालमा २० देखि २५ लाख मालाको खपत हुने गर्छ । विशेषगरी तिहारमा घरलाई सिगार्न मानिसहरुले घर आगन बगैँचभरि सयपत्री र मखमली रोप्ने गरेका छन् । तिहार नजिकिँदै गर्दा धेरैका घर आगन र बगैँचा फूलले ढकमक्क पनि भएका छन् ।

व्यवसायीकरुपमा नै फूल खेती थालिएपछि तिहारको समयमा मागअनुसार बाँकेमै फूल उत्पादन हुन थालेको छ । खपतअनुसार उत्पादन हुन थालेपछि भारतबाट फूल आयात कम हुँदै गएको व्यवसायीहरुको भनाई छ । विगतका वर्षहरुमा पनि तिहारको मुखैमा बजारमा स्वदेशी मालाहरुले बजार पाउने अपेक्षा रहेको बाँकेका पुष्प व्यवसायीहरुले गरेका छन् ।

बाँकेमै उत्पादित सयपत्री तथा मखमली फूलको माग होटल, कार्यालय तथा पसलहरुमा बढ्न थालेपछि नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा फूल खेती गरेकी पुष्प व्यवसायी विन्दु चर्तिमगरलाई यतिबेला भ्याइनभ्याइ छ । फूलको माग बढेसँगै पुष्प व्यवसायमा उनको व्यस्तता निकै बढेको छ । उनले उत्पादनसँगै फूलको माग बढ्दै गएको बताइन् ।

गत वर्षदेखि आफ्नै बारीमा व्यवसायीकरुपमा पुष्प खेतीमा लागेकी विन्दुलाई यतिबेला फूलको व्यापार गर्न भ्याइनभ्याई छ । ‘तिहारमा धेरै माग हुने सयपत्री, मखमली, सुपारी लगायतका फूलहरु बाँकेमै उत्पादन भएपछि माग पनि ह्वात्तै बढेको छ भने गर्दा भारतीय फूल विस्थापित भएका छन्,’ उनले सत्यपाटीसँगको कुराकानीमा भनिन् ।

आधुनिकतासँगै प्राकृतिक फूल र वातावरणमैत्री सामान प्रयोग हुन थालेको उनको भनाइ छ । नेता वा कुनै पाहुना आएको बेला फूलको माला लगाइदिने प्रचलन पछिल्लो समय बढ्दै गएको छ । उनको बगैँचामा अहिले सयपत्री र मखमली फूल ढकमक्क फुलेका छन् । अहिले ती फूलको माग अत्याधिक रहेको उनले सत्यपाटीलाई बताइन् ।

धेरै फूल खपत हुने तिहारमा यतिबेला उनको बगैंचामा सयपत्री फूल ढकमक्क फुलेका छन् । नेपालगन्ज औद्योगिक क्षेत्र अगाडी विन्दुको आफ्नै ‘चर्ति फ्लोरा’ नामक विक्री केन्द्र सञ्चालनमा रहेको छ । नेपालगन्जकै पहिलो पुष्प व्यवसायी विन्दुले भारतबाट आयातित फूल किनेर प्रयोग गर्नुपर्दा आफूलाई फूलको खेती गर्ने सोच आएको बताइन् ।

उनले भनिन्, ‘बाहिर बजारबाट फूल किनेर ल्याउनुभन्दा आफ्नै बगैँचामा उत्पादन गर्ने जाँगर चल्यो ।’ बाहिरभन्दा आफ्नै ठाउँको स्थानीय बजारमा फूल बिक्री भएको उनले बताइन् । कहिलेकाहीँ फूलको अभाव हुँदा उनले दाङ, पाल्पा र काठमाडौंबाट समेत फूल खरिद गरेर गरेर सेवाग्राहीको मागलाई पुरा गर्न सकेको बताइन् ।

बाँकेको नेपालगन्ज, कोहलपुर, तुलसीपुर, लमही, बुटवल लगायतका बजारहरुमा फूलको माग रहेको पुष्प व्यवसायी विन्दुले बताइन् । उनले भनिन्, ‘भारतको लखनउ वा काठमाडौंबाट ओइलाएको बासी फूल प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ, हामीले यही ताजा फूलबाट बनेका मालाहरु ग्राहकलाई उपलब्ध गराउन सकेका छौं ।’

पर्व तथा समारोहमा आवश्यक पर्ने फूल तथा फूलबाट निर्मित सजावटका सामानहरुका लागि भारत धाउनुपर्ने बाध्यतालाई हटाएर उनले सञ्चालन गरेको ‘चर्ति फ्लोरा’ले नेपालगन्जमै रोजेको फूल उपलब्ध गराइरहेको छ । उनले विक्री केन्द्रसँगै फूलको खेतीका लागि प्रारम्भीक चरणमा करिव रु.२० लाख बढी लगानी गरेको जानकारी दिइन् ।

उनी गुलाव, सयपत्री, मखमली फूल तथा विभिन्न प्रकारको फूलको खेती र बजारीकरण गर्दै स्थानीय महिलालाई रोजगारी दिन सफल भएकी छन् । उनको नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित १० कठ्ठा क्षेत्रफलमा फैलिएको फूलको बगैँचा छ । जहाँ बार्षिक तीनदेखि चार लाखसम्मको फूल उत्पादन हुँदै आएको छ ।

करिब दुई लाख ५० हजारको लगानीबाट पुष्प व्यवसायमा होमिएकी विन्दु भन्छिन्, ‘पूmल खेतीबाट निकै खुशी र सन्तुष्ट छु ।’ अघिल्लो बर्ष करिब दुई लाख आम्दानी गरेकी उनी यो वर्ष फूलको बिक्रीबाट त्यतिनै आम्दानी हुने अनुमान लगाउँछिन् । गत बर्ष चार कठ्ठामा मात्रै फूल खेती गरेकी गरेकी विन्दुले यसबर्ष १० कठ्ठामा खेती गरेकी हुन् ।

तर कोरोनाका कारण गत बर्षकै तुनालामा आम्दानी हुने उनी बताउँछिन् । ‘यस बर्ष पाँच लाखसम्मको फूल विक्री गर्ने लक्ष्य थियो, तर कोरोनाका कारण यस बर्ष विक्री गर्ने गत बर्षकै तुलनामा विक्री हुने अनुमान छ,’ पुष्प व्यवसायी विन्दुले भनिन् । उनले आफ्नै गाउँमा बेरोजगार युवाहरुलाई रोजगार दिएको बताइन् ।

आफ्नै गाउँठाउँमा फूल खेती गरेकी विन्दुको बगैँचामा ९ जना स्थानीयले रोजगारी पाएका छन् । फूल गोडमेल गर्न र हेरचाह गर्न, फूलमाला बनाउनका लागि दुई जनाले स्थायीरुपमा काम गरिरहेका छन् भने सात जनाले अस्थायीरुपमा काम गरिरहेका छन् । उनले भनिन्, ‘काम नभएर खाली बस्नुभन्दा गाउँका युवाहरुलाई रोजगारी पाउनुभएको छ ।’

फूल व्यवसायमा गाउँकै दिदीबहिनीलाई रोजगारी दिन सकेको, आफू पनि स्वरोजगार भएको तथा फूल व्यवसायबाट राम्रै आम्दानी गर्न सकेकोमा विन्दु निकै खुशी र सन्तुष्ट छिन् । उनकाअनुसार हालसम्म झण्डै एक क्वीन्टल फूलको माग आइसकेको छ । बाँकेमा उत्पादन भएका सयपत्री फूल भारतको भन्दा गुणस्तरीय रहेको पनि उनले बताइन् ।

सयपत्री फूल प्रतिकिलो रु.६०० का दरले बिक्री हुँदै आएको छ भने विदेशी प्रजातीको ‘ग्ल्याडुलस’ नामको पूmल लठ्ठीसँगै विक्री हुने भएकाले प्रतिलठ्ठी रु.६५मा बिक्री भइरहेको पुष्प व्यवसायी बिन्दु बताउँछिन् । उनका अनुसार अहिले पनि दैनिक १० केजी फूल विक्री भइरहेको छन् । तिहार नजिकिँदै गर्दा विक्रीदर बढ्ने पनि उनले बताइन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १६:०१