सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

सदरमुकाम नै सार्वजनीक शौचालयबिहीन !

बझाङ । बझाङको सदरमुकाम चैनपुर सार्वजनिक शौचालयबिहीन भएको छ । बझाङको केन्द्र विन्दु तथा जयपृथ्वी नगरपालिकाको चैनपुर बजारमा केहि बर्षअघि चैनपुरस्थित खुलामञ्चमा महिला र पुरुषको लागि छुट्टाछुट्टै प्रयोगका लागि सार्वजनीक शौचालय निर्माण गरे पनि कोरोना महामारीपछि बन्द भएको शौचालय हालसम्म पनि सञ्चालनमा आएको छैन ।

स्थानीय मनराज धामीले भने, ‘सदरमुकामजस्तो ठाउँमा सार्वजनीक शौचालय नहुनु र भएको एउटा मात्रै शौचालय पनि बन्द हुँदा सर्वसाधारणहरुलाई असहज भएको छ ।’ सार्वजनीक शौचालय बन्द हुँदा गाउँघरबाट आएका सर्वसाधारणहरुले शौच गर्नका लागि निर्माण गरिएको शौचालय प्रयोग नपाएको उनले बताए ।

अर्का स्थानीय सुरेश बिष्टले सदरमुकाममै सार्वजनीक शौचालय नहुँदा शौच गर्न होटलका शौचालय खोज्दै जानुपर्ने अवस्था रहेको बताए । ‘शौच गर्न मन लागेपछि चिया खाजा खाने बहानामा होटलमा जानुपर्छ,’ बिष्टले भने । उनले शौचालय बन्द भएको आठ महिना पुग्दा पनि सञ्चालनका लागि नगरपालिकाले चासो नदिएको बताए ।

सार्वजनीक शौचालय हेरचाह तथा सरसफाइ गर्दै आएका राजेन्द्र कामीले भने, ‘कोरोनाका कारण चैत १२ गतेदेखि शौचालय बन्द गरेको हुँ, आजभोली पानी आउँदैन, पानी नभएकाले शौचालय बन्द गरिएको छ ।’ खानेपानी कार्यालय र नगरपालिकामा पानी अभाव भएको जानकारी गराए पनि कुनै पहल नभएकाले शौचालय बन्द गर्नुपरेको उनले बताए ।

यता जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भने, ‘ट्याङ्कीमा पानी नचढ्ने समस्या भएको छ । हामीले त्यसको विकल्प खोजिरहेका छौं ।’ सदरमुकाम चैनपुरभित्रै दुई ओटा नयाँ सार्वजनीक शौचालय निर्माण गर्ने निर्णय भएकाले केहिदिनमै काम सुरु हुने बताए । नयाँ शौचालय निर्माण भएपछि सार्वजनीक शौचालयको समस्या हट्ने उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १३:०७