सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

नेपालगन्जमा इन्जिनियरिङ ल्याव सञ्चालनको अन्तिम चरणमा अख्तियार

यो प्रविधिअन्तर्गत सडकमा गरिएको पिच आवश्यक मापदण्ड अनुसार छ कि छैन, पुलको गुणस्तर तथा भवनमा प्रयोग हुने रड, गिट्टी, इटाको प्रयोग सम्बन्धमा एक्सरे गरेझैं परीक्षण गर्न सकिन्छ ।

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्जमा स्थापना गर्न लागेको सिभिल इन्जिनियरिङ ल्यावको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न प्रकारका निर्माण सामाग्री तथा वस्तुहरुको परिक्षण गर्न सिभिल इन्जिनियरिङ ल्याव निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगन्जका प्रमूख भेषराज रिजालका उनका अनुसार विभिन्न निर्माण सामाग्री तथा वस्तुहरुको परिक्षण गर्नका लागि परिक्षण मेसिनहरु आइपुगिसकेको र केही मेसिनहरु जडान भएर ‘स्याम्पल’ परिक्षणसमेत सुरु गरी सकिएको छ ।

‘ल्याब निर्माण अन्तिम चरणमा पुगेको छ,’ प्रमूख रिजालले भने, ‘सबै मेसिनहरु आइसकेका छन्, केही मेसिनहरु जडान भएर काम सुरु भइसकेको छ भने केही मेसिनहरु जडान गर्ने कार्य भइरहेको छ । अबको दुई महिनामा सबै काम सकिने गरी काम भइरहेको छ ।’ उनका अनुसार केही भौतिक पूर्वाधार र विजुलीका कामहरु गर्न बाँकी छ ।

आयोगले केन्द्रीय कार्यालयमा यसअघि नै इन्जिनियरिङ ल्याव सञ्चालनमा ल्याइसकेको छ । प्रमूख रिजालले भने, ‘नेपालगन्जमा समेत यस क्षेत्रलाई ध्यानमा राखेर ल्याव स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ सिभिल इन्जिनियरिङ ल्यावका लागि आवश्यक सबै साम्रगीहरु नेपालगन्ज आइसकेको प्रमुख रिजालले सत्यपाटीलाई जानकारी दिए ।

ल्याव पूर्णरुपमा सञ्चालनमा आएपछि विकास निर्माणका आयोजनामा हुने अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैं गुणस्तर जाँच्न सक्नेछ । ‘आयोगले त्यसैका लागि आफ्नै विशेष प्रविधि र ल्याब स्थापना गरेको हो,’ सम्पर्क कार्यालय नेपालगन्जका प्रमूख रिजालले भने । जसले छड, डण्डी, सिमेन्ट लगायत निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्नेछ ।

सडक, भवन, पुल जस्ता विकासे आयोजनामा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षणमा थप सहज हुने प्रमूख रिजालले बताए । विकास आयोजना चाँडै बिग्रिने तर, त्यसको गुणस्तर रिर्पोटमा गलत नदेखिँदा अनियमितता बढ्न थालेपछि झण्डै एक बर्षअघि नेपालगन्जमा अख्तियारले आफ्नै ल्याब निर्माण सुरु गरेको थियो ।

ल्याब पूर्णरुपमा सञ्चालनमा आएपछि विकास आयोजनामा अनियमितता गर्नेले उन्मुक्ति नपाउने आयोगको ठहर छ । अनियमितताको आशंकामा उजुरी परे आयोग आफैंले नमूना परिक्षण गरी अनुसन्धान गर्ने प्रमूख रिजालले सत्यपाटीलाई बताए । ल्याब सञ्चालनपछि भौतिक निर्माणमा भएका सामानको गुणस्तर लगायतका बारेमा परीक्षण गर्न थप सहज हुनेछ ।

प्रमाणमा आधारित अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन नयाँ किसिमका प्रविधि, साधन स्रोत एवं दक्ष जनशक्तिको विकास गराउने अभियान अन्तरगत आयोगले ल्याव स्थापना गरेको पनि प्रमूख रिजालले सत्यपाटीलाई बताए । आयोगले यसअघि अनुसन्धानका लागि सडक विभागको सेन्टर ल्याव र इन्जिनियरिङ क्याम्पस पुल्चोकको ल्याव प्रयोग गर्दै आएको थियो ।

यो प्रविधिअन्तर्गत सडकमा गरिएको पिच आवश्यक मापदण्ड अनुसार छ कि छैन, पुलको गुणस्तर तथा भवनमा प्रयोग हुने रड, गिट्टी, इटाको प्रयोग सम्बन्धमा एक्सरे गरेझैं परीक्षण गर्न सकिन्छ । नेपालगन्जमा स्थापना हुने सिभिल इन्जिनियरिङ ल्यावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाको पूर्वाधार निर्माण सम्बन्धी पर्ने उजुरीमा गुणस्तर परीक्षण गर्नेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार १०:५९