सूचनाको शक्ति - The Power Of Information

        

जन्मदिन मनाउन ‘आमाघर’मा पुगे गायक सीताराम

बाँके । नेपाली साङ्गीतिक क्षेत्रका चिनिएका गायक हुन् सीताराम पोखरेल । सानैदेखि गीतसङ्गीत भनेपछि हुरुक्कै हुने उनले औपचारिक गायन यात्रा विसं २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट थालेका थिए । यो गीत रेडियो नेपालमा रेकर्ड भएको थियो । अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा सात वटा एल्बम बाहिर ल्याएका पोखरेलका धेरै गीतसङ्गीत आधुनिक नै हुने गरेका छन् ।

स्टेज तथा देशविदेशका कार्यक्रमलाई ध्यानमा राखेर केही डान्सिङ नम्बरसमेत बनाएका उनी केही दिनभित्रमै नयाँ गीत ल्याउने तरखरमा छन् । पोखरेले कलाकार पनि हुन् । आफ्नो गीतको म्युजिक भिडियोको अलवा उनले थुप्रै बाहिरको म्युजिक भिडियो, सानो पर्दाका शृङ्खला र फिल्ममा समेत अभिनय गरेका छन् । नेपाल आयल निगमका अवकास प्राप्त कर्मचारी समेत रहेका पोखरेल समाजसेवातिर पनि त्यतिकै लगाव राख्छन् ।

२०७२ को महाभूकम्प, त्यसपछिको बाढीपीडित होस् वा अहिलेको कोरोनाको कहर । समाज सेवामा उनको सक्रियता त्यतिकै छ । उमेर उनको ढल्किँदो छ । तर उनको लवाइखवाइ, बोलीचाली र जोसजाँगर भने कुनै लक्का जवानभन्दा कम छैन । त्यसैले त उनको अझै विश्वमा नेपाल चिनाउने गीतसङ्गीत बनाउने सोच छ । हरेक अक्टोबर ४ तारिखका दिन कलाका विभिन्न क्षेत्रमा क्रियाशील सीताराम पोखरेलको जन्मदिन पर्छ ।

आफ्नो जन्मदिनलाई गायक पोखरेलले समाजसेवामा रमाएर मनाउँदै आएका छन् । विगत १७ बर्षदेखि विभिन्न सामाजिक संघसंस्थासँग आफ्नो जन्मदिनमा खुसीयाली मनाउँदै आएका छन् । यसबर्षको जम्नदिन पनि गायक पोखरेलले विशेषरुपमा मनाएका छन् । जन्मदिनमा उनी गरिब, विपन्न र पिछडिएका समुदायमा पुगेर विभिन्न किसिमका सहयोग गर्ने गर्छन् । यस बर्ष उनले वृद्धावस्थामा रहेका आमाहरुसँग जन्मदिन मनाएका छन् ।

यस बर्षको जन्मदिनकै अवसरमा उनले काठमाडौंको नैकापस्थित वृद्धाश्रम व्यवस्थापन तथा सामाजिक कल्याण गुठीद्वारा सञ्चालित ‘आमाघर’मा पुगेर त्यहाँ रहेका वृद्ध आमाहरुलाई भोजन गराउनुका साथै फलफूल र मास्क वितरण गरेका छन् । धर्मपत्नी रमा पोखरेलसहित आश्रममा पुगेका गायक सीतारामले आश्रममै केक काटेर जन्मदिन मनाएका छन् । उनले ‘आमाघर’मा रहेका वृद्ध आमाहरुसँग आश्रीवादसमेत लिएको बताए ।

गायक पोखरेलले गत बर्ष मोरङको बिराटनगरस्थित रानीमा रहेको मुसहर बस्तीका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेर जन्मदिन मनाएका थिए । गत बर्ष आर्थिकरुपमा विपन्न समुदायका बालबालिकालाई लेखपढमा सहज होस् भन्ने उद्देश्यले शैक्षिक सामग्रीहरु वितरणसँगै बालबालिकाहरुसँग रमाउँदै गायक पोखरेलले ‘अल्कोहोेलिक लभ’ एल्बमको पनि विमोचन गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार १६:३९