सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक रुख बेचेर चार लाख रुपैयाँ हेरफेर ; किसान अक्रोशित

धनुषाको बटेश्वर गाउँपालिकाका । वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतो सडकबाटोको सार्वजनिक रुख बेचेर चार लाख रुपैयाँ खल्तिमा राखेका छन् । झण्डै डेढवर्ष अघि बाटो बनाउने नाउमाँ वडा नं. १ र २ को धुमासन टोलदेखि कार्तिककुमार बजारसम्मको दुवै तर्फको सिमल चार लाख रुपैयाँमा बेचेका थिए ।

किसानको खेत अगाडीको बेचेको उक्त सिमलको चार लाख रुपैयाँले केहि महिना भित्रै इनार खनाइदिने वडाध्यक्ष महतोले आश्वासन दिएका थिए । रुख बेचेको उक्त चार लाख रुपैयाँ आफै राखेका छन् । तर रुख बेचेको एकवर्षमा पनि वडाध्यक्ष महतोले कुनै चाँसो नराखेपछि स्थानीयहरु उनलाई भेटेर गुनासो गरेका थिए ।

त्यसपछि उनले किसानको सिँचाइको लागि उक्त चारलाख रकमबाट दुईवटा इनार खनाइदिने प्रतिवद्धता गरेका थिए । उनकै पहलमा रुख बेचेकै क्षेत्रमा वडा नं. १ को सडक छेउमा दुईवटा इनारको शिलान्यास गरिएको थियो । सोही स्थानको तेस्रो ठाउँमा गाउँपालिका अध्यक्ष डम्बर बुहादुर राउत र वडा नं. २ का अध्यक्ष गंगाराम कुमरले पनि शिलान्यास गरेका थिए । तर शिलान्यस गरेको दुई महिना बित्न लाग्दा समेत एउटा इनार खन्ने कुनै चालचुल छैन ।इनार नखनेपछि स्थानीय किसानहरु वडाध्यक्ष महतोप्रति आक्रोशित भएका छन् ।

‘रुख बेचेकै बेला केहि महिना भित्रै दुईवटा इनार खनाइदिने भनेका थिए । पैसा खल्तीमा राखे । एकवर्षसम्म केहि गरेनन् । हामीले पैसाको सोधखोज गर्दा दुईवटा इनारको शिलान्यस गरे । तर अहिलेसम्म इनार खनाइदिएनन् ।’ स्थानीय श्रीनारायण यादवले वडाध्यक्ष महतोप्रति आक्रोश पोख्दै भने ‘वडाध्यक्ष बहानाबाजी गरे डेढवर्षदेखि एकलौटी सार्वजनिक पैसाले निजी काम गरिरहेका छन् । सिँचाइ हाम्रो भइरहेको छैन । उनलाई इनारदेखि के मतलब छ ।’

वडाध्यक्ष महतो विभिन्न बहानाबाजी गर्दै रुख बेचेको रकम बेइमानी गर्न खोजेको स्थानीय रामनाथ महतोको आरोप छ । ‘विवाद भएपछि वडाध्यक्षले एकपटक पनि समाजलाई बसाएर छलफल गर्न चाहेनन् । त्यहि पैसा ब्याजमा लगाएको भए डेढवर्षमा तीनवटा इनारको पैसा पुग्थ्यो’, उनले भने ‘अब एकवर्षसम्म इनारै खन्ने सिजन होइन । एकवर्ष अझै पैसा चलाउन पाउँछन् । उनलाई त फाइदै फाइदा छ । घाटा यहाँका समाजलाई छ । यतिदिनसम्मको ब्याज कसले दिन्छ ? ’

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १४:०५