सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरले माग्यो योजना सञ्चालनका लागि थप समय

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले लकडाउनका कारण सङ्घ र प्रदेशले स्वीकृत गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै योजना सञ्चालनको समय थप गर्न माग गरेको छ । उपमहागरपालिकाको मङ्गलबार सम्पन्न सातौँ नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आह्वान गर्न नसकिएकाले अधिकांश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो ।

‘अर्थ मन्त्रालयले पिएमओ (सार्वजनिक बोलपत्र आह्वान) मार्फत ठेक्का आह्वान गर्न दिएन,’ नगर प्रमुख डा धवलशम्शेर राणाले भने ‘लकडाउन खुकुलो भएपछि आर्थिक वर्षको अन्तिम महिना शुरु भयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् ।’ नगरसभा समापनका अवसरमा चालु आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने पाँच वडा कार्यालयलाई सम्मान गरिएको छ ।

चालु आवमा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने वडा कार्यालयहरु १, २, ४, १० र १८ लाई नगरसभामा सम्मान गरिएको हो । यसैगरी उपमहानगरपालिकाबाट हालै सेवा निवृत्त भएका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेललगायत एक दर्जनभन्दा बढी कर्मचारीलाई पनि सम्मान गरिएको थियो । यसैबीच नेपालगन्जमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा राणाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपमहानगरपालिका–६ स्थित फुल्टेक्रा ताल र कर्बलाको जग्गामा प्रस्तावित नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि जग्गा बाँडफाँटमा सहमति जुटेको हो । बैठकमा रङ्गशाला निर्माण, मुस्लिम समुदायको कर्बला निर्माण, वडा नं. ६ को कार्यालय तथा हिन्दूहरुको मुर्चुवा पूजास्थल निर्माण गर्ने प्रस्ताावित नक्सालाई बैठकले समान्य हेरफेर गरी पारित गरेको छ ।

राजनीतिक दलका नेता, मुस्लिम र हिन्दू समुदायका अगुवा र वडाका जननिर्वाचित जनप्रतिनिधिहरू सहभागी रहेको बैठकले नक्साअनुसार बन्ने भौतिक संरचना निर्माणका लागि उपमहानगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकमा नगर प्रमुख डा राणाले लामो समयको प्रयासपछि रङ्गशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य शुरु गर्ने बताए ।

रङ्गशाला निर्माणका लागि यस वर्ष माटो पटान र पर्खाल निर्माणका लागि रु दुई करोड ५० लाख बजेट विनियोजन गरिएको क्रिकेट मैदान स्थान छनौट समितिका संयोजक तथा वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमालले बताए । उक्त स्थानमा रहेको ११ बिघा छ कठ्ठा जग्गामध्ये रङ्गशालाका लागि तीन बिघा तीन कठ्ठा, पेभिलियनका लागि पाँच कठ्ठा, कर्बलाका लागि तीन बिघा, हिन्दू मुर्चुवाका लागि दुई विघा तीन कठ्ठा र वडा कार्यालयको भवन निर्माणका लागि तीन कठ्ठा जग्गा छुट्याइएको नगर प्रमुख राणाले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार ११:३५