टोकियो । दक्षिण पश्चिम जापानका विभिन्न स्थानहरुमा शुक्रबार र शनिवारको परेको भिषण वर्षापछि आएको बाढी र डुबानमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । बाढी र डुबानबाट नराम्रोसँग प्रभावित बनेको कुमामोतो र खागोशिमा प्रिफेक्चर प्रान्तका विभिन्न स्थानहरुमा १४ जना बेपत्ता छन् ।
कुमामोतो प्रिफेक्चरमा एक दशकयताकै ठूलो बर्षाले नदिहरुको सतह बढ्दा बस्ती क्षेत्रमा वितण्डा मच्चाएको हो । बेपत्ता व्यक्तिहरुको खोजी जारी राखिएको अधिकारीहरुले बताएका छन् । कुमामोतोको कुमा नदीसहित स्थानीय ११ बढी नदी तथा खोलामा पानीको सहत बढेर बस्तीमा पस्दा बिपदले बिनासको रुप लिएको थियो ।
सबैभन्दा बढी हितोसी, आशिकिता लगायत शहर प्रभावित बनेको छ । यी स्थानमा शहर नै जलमग्न बन्दा स्थानीयलाई अन्य क्षेत्रमा उद्दार गरेर लगिएको छ । हालसम्म दुई लाख बढी नागरिकको उद्दार गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुलाई एक सय बढी आश्रय स्थलहरुमा राखिएको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको यो क्षेत्रमा धेरै व्यक्तिलाई एकै स्थानमा राख्नुपर्दा कोरोना संक्रमण फैलन सक्ने चिन्ता अधिकारीहरुले गरेका छन् । कुमा शहरमा रहेको एक बृद्धबृद्धा हेरचाह केन्द्रमा बाढी पस्दा मानविय क्षती धेरै हनुपुगेको बताइन्छ । उद्दार कार्य जारी रहेको बताउदै कुमामोतो प्रिफेक्चरका अधिकारीहरुले ३० वटा जिल्ला बाढीपहिरो र डुबानबाट नराम्ररी प्रभावित भएको बताएका छन् ।
यहाँको मौसम एजेन्सीले आगामी केही दिन लगातार बर्षा हुने सम्भावना रहेको बताउँदा प्रभावितहरु थप समस्यामा परेका छन् । प्रधानमन्त्री आबे शिन्जोले नागरिकको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै उद्दार र आश्रयस्थलको उचित व्यवस्थापनमा जोड दिन प्रिफेक्चर अधिकारीहरुलाई आग्रह गरेका छन् । जापान सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै उद्दारमा आत्मरक्षा बलसहित सबै संयन्त्रहरु परिचालन गरेको छ ।
सत्यपाटी ।