सूचनाको शक्ति - The Power Of Information

        

सुशान्तको आत्महत्या र बलिउडको नातावाद

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ । मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हावी छ । सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ । सुशान्तले आत्महत्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन् । नेपाली चलचित्र क्षेत्रमा पनि परिवारवाद, नातावाद र कृपावाद जस्ता कुराहरुले जरा गाड्दै गइरहेको छ ।

मेहेनत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा अब्बल कलाकारलाई काम पाउनै मुस्किल छ भन्ने कुराहरु आइरहेका छन् । पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको विभेद, गुठबन्दी, परिवारवाद तथा नाताबाद (नेपोटिजमको) बिषयमा खुलेर आवाज उठाउन थालेका छन् । अभिनेत्री बर्षा सिबाकोटीले त आफूसमेत यसबाट पीडित भएको खुलासा गरेकी छन् । पक्कै पनि नातावाद, कृपावाद, बहिस्कारण, सिण्डिकेट, अपमान, भेदभाव जस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ । जसले मनोसामाजिक समस्या तथा मानसिक रोग निम्त्याउन सक्छ ।

फिल्म जस्तो आफ्नो कला र सृजना देखाउने क्षेत्रमा यस्तो ब्यबहारले यस क्षेत्रको बिकासमा नै असर पुर्याउने गर्छ । यसलाई कदापि राम्रो मान्न सकिँदैन । तर बलिउड तथा कलिउडमा यसले लामो समय देखि जरा गाडेको देखिन्छ । प्राय जसो सबै क्षेत्रमा सिन्डिकेट देखिन्छ । फिल्म क्षेत्रमा त झन आफ्नो वर्चश्व कायम राख्न अनेकन टिकडम हुने गर्छन् । यस क्षेत्रमा लागेका घरनाका आफन्तले मात्र अबसर पाएको, प्रतिभा हुँदा हुँदै पनि अरु पछि पर्नु परेको ज्वलन्त उदाहरणहरु प्रशस्त छन् । अवसर नपाएपछि आफैं लगानी गरेर कलाकार भएका पनि धेरै भेटिन्छन् । यति हुँदाहुँदै पनि फिल्म उद्योग विशुद्घ कलाकारिता क्षेत्र मात्र नभएर एक किसिमले ब्यवसाय पनि हो ।

फिल्म बनाउनेले नाफा घाटाको हिसाव किताव गर्छ । निश्चित रूपमा उसका केही स्वार्थ पनि हुने गर्दछन् । जसले गर्दा लगानीकर्तालाई सजिलोसँग औंला उठाउन पनि सकिरहेको हुँदैन । यस कारण क्षमता भएकाहरु पनि निरीह हुन बाध्य देखिन्छन् । आत्महत्याको कारण खोज्ने हो भने यसको प्रमुख कारण मानसिक रोगलाई लिने गरिन्छ । त्यसमा पनि डिप्रेसन एक नम्बरमा पर्ने गर्छ । विभिन्न कारणले गर्दा मानसिक समस्यमा परेपछि बेलैमा सहि उपचार हुन नसक्दा आत्महत्या जस्तो दुखद घटना घटन सक्छ । तर आत्महत्याको पछाडिको कारणलाई बेवास्ता गर्दै फरक व्याख्याले समाजमा आत्महत्या प्रतिको बुझाई र धारण गलत बन्न जान्छ ।

फिल्म नपाउँदैमा, ऋण लाग्दैमा, प्रेममा असफल हुँदैमा वा अन्य एउटै मात्र कारणले कसैले आत्महत्या गर्दैन । यसका पछाडि धेरै कारक तत्वले प्रभाव पारेको हुन्छ । आत्महत्याको हिसावले केही व्यक्ति बढी जोखिममा परेका हुन्छन् । उनीहरुले आत्महत्या गर्ने संभावना धेरै हुन्छ । पेशाको हिसावले पनि व्यक्तिहरुमा आत्महत्याको जोखिम बढी हुन्छ । तनावपूर्ण पेशा अंगाल्ने व्यक्ति अरु पेसामा भन्दा आत्महत्याको जोखिम बढी हुन्छ । फिल्म वा कलाकारिता पेशा पनि तनावपूर्ण पेशा हो । यो पेशामा स्थापित हुन धेरै संघर्ष गर्नुपर्छ । दर्शकले सधैं नरुचाउन पनि सक्छन् । सधैंभरी एउटै उचाई नहुन सक्छ । दर्शकको आलोचना खप्नुपर्ने हुनसक्छ । दर्शकको एक अर्का कलाकारबीच तुलना गर्ने स्वभाव हुन्छ ।

धेरै कलाकारलाई दर्शकको यो व्यबहार मन नपर्न सक्छ । कलाकारहरु स्वभापत महत्वकाँक्षी पनि हुन्छन् । दर्शकलाई रिझाई राख्न देखापटी गर्नु, आफूलाई चर्चामा राखी राख्न विभिन्न हडकण्ड देखाउनु उनीहरुको बाध्यता हुनसक्छ । घरपरिवारलाई समय दिन नसक्दा परिवारिक बेमेल र खटपटले सताउन सक्छ । यी र यस्ता कारणले कलाकारमा मानसिक तनावले सताउने जोखिम बढी हुन्छ । जसले मानसिक समस्यामा पार्न सक्छ । आत्महत्याजस्तो अहिलेको जटिल सामाजिक समस्यालाई संक्रीणरुपले हेर्न र ब्याख्या गर्नुहुँदैन । आत्महत्या मानसिक रोगको एउटा परिणामको रुपमा बुझ्नु उत्तम हुन्छ । बलिउड अभिनेताको आत्महत्याको कुरा गर्दा उनी बिगत ६ महिनादेखि डिप्रेसनमा थिए भन्ने कुरा बाहिर आएको छ । तर पारिवारले यो हत्या हुनसक्ने आशंका गरिरहेका छन् ।

यद्यपि उनको मुत्यु झुण्डिएर भएको देखिएको छ । उनी के कारणले गर्दा डिप्रेसनमा थिए भन्ने कुरा फरक हो । डिप्रेसन हुनुमा धेरै कारण हुन सक्छन् । व्यक्तिको व्यक्तित्व, स्वभाव, जीवनशैली, रहन सहन आदि कुराले पनि मानसिक रोग तथा आत्महत्याको जोखिम बढाउँछ । उनले पनि अरु कलाकारहरुले भोग्नुपरेका साझा समस्याहरु भोग्नुपर्यो होला । उनी पनि अरु कलाकारहरु झैं महत्वकांक्षी पनि थिए होलान् । समाचारहरुमा उनमा पचासौं सपनाहरु थिए जुन पूरा हुन सकेनन् भन्नेजस्ता कुरा बाहिर आएका छन् । सुशान्तलाई आत्महत्या गर्ने बाध्य बनाइएको हो भन्दै सलमान खानसहित आठ जनाबिरुद्ध दुरुत्सानको मुद्दा समेत दायर गरिएको छ । अदालतले यसलाई कसरी लिन्छ हेर्न बाँकी छ । कसैलाई आत्महत्या गर्न बाध्य बनाउनु एक किसिमले अपराध नै हो ।

यसको साक्षीमा अभिनेत्री कंगना रनावत बसेकी छन् । कंगनाले भनेकी छन्, ‘इन्जिनियरिङमा राम्रो स्तरमा आएर सुशान्तले छात्रवृत्ति पाएका थिए । त्यत्रो संघर्ष गर्दै आएका उनको दिमाग कसरी कमजोर हुनसक्छ र आत्महत्या गर्न सक्छन् ?’ कंगनाको बुझाइमा कमजोर दिमाग भएको मान्छेले मात्र आत्महत्या गर्छ भन्ने देखिन्छ । तर यो बुझाइ गलत हो । डिप्रेसनमा गएपछि व्यक्तिको आफूलाई हेर्ने दृष्टिकोण आत्मवल, निर्णय लिने क्षमता कमजोर भएर जान्छ । मानसिक स्वास्थ्य समस्याका बारेमा जनचेतनाको ठूलो आवश्यकता देखिन्छ । डिप्रेसन तथा आत्महत्याका विषयमा सत्यतथ्य जानकारी दिन सके तथा यस बिषयमा बहस र छलफल अघि बढाउन सके यस्ता दुखद घटनाहरुलाई कम गर्न सकिन्छ । (लेखक मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार ०९:१८