सूचनाको शक्ति - The Power Of Information

        

पुनः जाँच नगरी १४ दिन पुगेका १७० जना संक्रमितलाई घर पठाइयो

बाँके । बाँकेमा १७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार, जिल्लाबाट धमाधम कोरोना संक्रमित घर फर्किरहेका छन् । निर्देशिकामा १४ दिन अस्पतालको आइसोलेशन वा आइसोलेसन सेन्टरमा बसेका संक्रमितलाई पुनः जाँच नगरी घर पठाउन सकिने उल्लेख छ ।

त्यही निर्देशिकालाई टेकेर बाँकेमा १४ दिन पुगेका संक्रमितलाई घर पठाउने काम भइरहेको छ । पछिल्लो पटक डुडुवाका आठ जना डिस्चार्ज भएका छन् । डुडुवामा सुरुवाती चरणमा कोरोना भाइरसको संक्रमण देखिएकाहरु घर फर्किएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले डुडुवामा आठ जना डिस्चार्ज भएसँगै बाँकेमा १७० जनाले कोरोनालाई जितेको जानकारी दिए ।

उनका अनुसार, अब जिल्लामा १२५ जना संक्रमित उपचारमा छन् । उनीहरुको १४ दिन पुगेको छैन । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै बजार खोलिसक्दा र पुनः जाँच नगरी संक्रमितलाई घर पठाउँदा एकथरीले जोखिम बढ्न सक्ने आँकलन गरेका छन् । तर, विश्व स्वास्थ्य संगठनले १४ दिन आइसोलेशन अस्पताल वा आइसोलेशन सेन्टरमा बस्दा लक्षण नदेखिएका संक्रमितमा भाइरस बृद्धि नहुने र उसबाट अरुमा नसर्ने दाबी गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार काम गर्न आठवटै पालिकामा परिपत्र गरेको छ । अब पालिकाले आफ्नो ठाउँमा भएको आइसोलेशन अस्पताल वा आइसोलेशन सेन्टरमा बसेका व्यक्तिलाई १४ दिन पुगेपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा घर पठाउन सक्ने फोकलपर्सन श्रेष्ठले बताए । पालिकाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई सुरुमा आरडीटी गर्ने र पोजिटिभ देखिएमा पीसीआर जाँचका लागि स्वाब लिने र नेगेटिभ देखिएमा घर पठाइने गरिरहेका छन् । बाँकेमा हालसम्म ५ हजार ७२४ जनाको आरडीटी र चार हजार ९५२ जनाको पीसीआर जाँच भएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार ०९:१०