सूचनाको शक्ति - The Power Of Information

        

रुकुममा प्रहरी चौकीमा आक्रमण

रुकुम । मंगलबार साँझ रुकुमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकी आक्रमण भएको छ । मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष दिपक केसीको नेतृत्वमा चौकी आक्रमण भएको हो । मादप पदार्थ सेवन गरेका वडाध्यक्ष केसीले २५ जनाको युवा समूह लिएर साँझ चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आक्रमणपछि उनीहरु फरार भएका छन् । केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाध्यक्ष हुन् । फरार रहेका उनीहरुको खोजीकार्य भइरहेको डीएसपी तिम्सिनाले जानकारी दिए । खाना खाइरहेको समयमा आक्रमणकारीहरुले चौकीको पोष्ट भत्काउनुको साथै २ प्रहरी जवानलाई समेत कुटपिट गरेको कर्णाली प्रदेशका डीएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले बताए ।

सुरुमा आक्रमणकारीहरुले प्रहरीको हतियार समेत खोसेको उनको भनाइ छ । तर पछि प्रहरीले बल प्रयोग गरि हतियार फिर्ता गरेको प्रवक्ता तिम्सनाले बताए । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी कार्यरत छन् । घटनाबारे थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार १२:०९