फाइल तस्वीर
कञ्चनपुर । भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पुर्याएर छाडिएको जनाइएको छ ।
सीमानाकामा प्रवेश पाउने आशामा ती मजदुर महाकाली नगरपालिकाको बाबाथान आउन थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले लखेटेर खटिमा पुर्याएको थिए । सो स्थानमा अलपत्र परेका ती मजदुरलाई भारतीय कँग्रेस आइका उत्तराखण्ड प्रदेशका सचिव भुवन कापरीले खानाको व्यवस्था मिलाएका थिए । शनिबार राति बसमा राखेर मजदुरलाई पुनः रुद्रपुर पुर्याइएको छ ।
रातभरि खुला आकाशमुनि बस्नुपरेको मजदुरले जनाएका छन् । ती मजदुरमा अधिकांश कञ्चनपुर, कैलाली र डडेल्धुराका बासिन्दा रहेका छन् । उनीहरुले आफूहरुलाई खानाको समस्या परेकाले उद्धार गरिदिन आग्रह गरेका छन् । अलपत्र परेका मजदुरमा यहाँको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किशोर टमाटाकी गर्भवती श्रीमती कवितासमेत रहेकी छन् ।
‘कैयौँ दिनदेखि भोकभोकै बस्नुपरेको छ,’ उनले भनिन्, ‘श्रीमतीको सुत्केरी हुने दिन नजिकिँदै गर्दा निकै समस्यामा परेका छाँै । मर्नु न बाँच्नुको अवस्थमा पुगेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय समकक्षीसँग नेपाली मजदुर अलपत्र परेका बारे समन्वयको काम भइरहेको जानकारी दिए । दुवै देशका नागरिक जुन ठाउँमा छन्, त्यसै ठाउँमा बस्न दिने भन्ने समझदारी भएको पनि उनले बताए ।
‘पहिले बसेकै क्वारेन्टाइनमा फर्काउनका लागि पहल भइरहेको जानकारी पाएको छु उनले भने, ‘दुवै देशको समझदारीमा सीमा प्रवेश दिने कुरा हो । भारतीय पक्षको नेपाली मजदुरलाई लगि दिएहुन्थ्यो भन्ने मनसाय रहेको पाएको छु ।’ भारतले क्वारेन्टाइनबाट नेपालीलाई निकाल्न नहुने उनले बताए ।
प्रजिअ खतिवडाले भने, ‘हामी कहाँसमेत भारतीय नागरिक क्वारेन्टाइनमा बस्दै आएका छन् । यसबारे भारतीय पक्षसँग कुराकानी भइरहेको छ । के भएको रहेछ बुझने प्रयासमा छौँ ।’ यहाँ रहेका भारतीयको विवरण भारतीय पक्षले मागेको हुँदा विवरण तयार गरी उनीहरुलाई दिइने उनले बताए । रासस
सत्यपाटी ।