सूचनाको शक्ति - The Power Of Information

        

मदिरा किन्न डेढ किलोमिटरको लाइन !

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मदिरा किन्नको लागि १.५ किलोमिटरसम्मको लाइन लागेको छ । तेस्रो चरणको लकडाउनमा रहेको भारतको केन्द्र सरकारले मदिरा पसल खोल्न अनुमति दिएसँगै मदिरा किन्नेको लाइन लागेको हो । भारतका धेरै राज्यहरुमा मदिरा पसल अगाडी धेरै किलोमिटरसम्मको लामो लाइन देखिएको छ । मदिरा पसल खुल्ने जानकारी पाएका धेरै मानिस बिहानैदेखि पसल बाहिर जम्मा हुन थालेका थिए ।

केन्द्रीय गृह मन्त्रालयले यस अवधिमा सामाजिक दूरीलाई पूर्णरुपमा ध्यान दिन पनि निर्देशन दिएको छ । यद्यपी यसको प्रभाव खासै देखिएको छैन र मानिसहरुले सरकारी आदेशको खिल्ली उडाएका छन् । र, यसको चौतफी आलोचना पनि भएको छ । लाइन लामो र भिडभाड भएसँगै प्रहरीले धेरै राज्यमा लाठीचार्ज नै गर्नुपरेको छ भने नयाँ दिल्लीमा केही समय पसल खोलेर बन्द नै गर्नुपरेको छ ।

भिड नियन्त्रण गर्न दिल्लीमा लाठीचार्ज

अन्य राज्यहरुमा जस्तै सोमबार दिल्लीमा मदिरा पसल खुलेका छन् र त्यहाँ अराजकताको वातावरण बनेपछि प्रहरीले लाठीचार्ज गरेको छ । मदिरा पसल अगाडी लाइन लागेका कोहीले पनि शारीरिक दुरी कायम गरेका थिएनन र भीड बढ्न थाले पछि प्रहरीले लाठीचार्ज नै गर्नुपरेको थियो । यसैबीच, भिड बढेसँगै दिल्ली पुलिसले मदिराका केही पसलहरु बन्द नै गर्नुपरेको थियो ।

मदिरा पसल खोल्नुअघि पूजा

कोरोनाभाइरस संक्रमणलाई रोक्न मार्च २४ देखि लकडाउन भए पनि सोमबारदेखि सरकारले शर्तसहित मदिरा पसल भने खोल्ने अनुमति दिएको थियो । करिव ४० दिनपछि मदिरा पसल खुल्दा ठूलो प्रभाव देखियो । पसल खुल्ने जानकारी पाएका मानिसहरु पसल खुल्नुअघि नै जम्मा भएर लाइन लागेका थिए । धेरै स्थानमा शारीरिक र सामाजिक दुरी कायम गर्न सरकारले गरेको आदेशको धज्जी नै उडेको देखियो । त्यसैगरी, लामो समयपछि मदिरा पसल खुल्ने भएपछि प्रयागराजमा पसलहरु खोल्नु अघि पुजाआजा गरि नरिवल चढाइएको थियो ।

सरकारी निर्देशनको पालना गराउन प्रहरीलाई हम्मेहम्मे

भरत सरकारले जारी गरेको नयाँ गाइडलाइनअनुसार रायपुरको मोवा क्षेत्रमा मदिरको पसल खुल्यो । उक्त क्षेत्रमा मदिरा खरिद गर्नेहरुको लामो लाइन लागेको थियो । यस क्षेत्रमा पनि पुलिसलाई भिड नियन्त्रण गर्न र शारीरिक दुरी कायम गरी लाइनमा मानिसहरुलाई राख्न हम्मेहम्मे परेको थियो । उता आन्ध्र प्रदेशमा पनि मदिरा पसल अगाडी ठूलो भिड जम्मा भएको थियो ।

त्यसैगरी, कर्नाटकमा पनि सरकारले बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म मदिरा पसल खोल्ने अनुमति दिएको छ । मदिरा पसल खुल्ने अनुमति दिए पनि बार, पव तथा रेष्टुरेन्टहरु भने बन्द नै रहनेछन् । भारत सरकारले लकडाउन अवधि बढाएर मे १७ सम्म पुर्याएको छ । लकडाउनमा सरकारले नियमहरु लागु गर्न स्पष्ट निर्देशन दिएको छ । पसलहरुमा सामाजिक दुरीका नियमहरु कायम गर्न अनिवार्य गरेको छ । केन्द्र सरकारले लागु गरेको नियमको पालना गरी पसल विहान ९ बजे देखि साँझ ७ बजेसम्म खोल्ने अनुमति दिएको हो ।

 

#न्यूज जागरण डटकम

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १७:१९