सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एकैपटक ९ जनामा कोरोना संक्रमण, सात वर्षीय बालकसमेत संक्रमित

‘घरभित्रै बसौं कोरोनाबाट बचौं’

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा एकै दिन नौ जनामा कोरोनाको संक्रमण देखिएको छ । शनिबार ९० जनाको स्वाब संकलन गरिएकोमा ३० जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका सबै एउटै टोलका हुन् । अझै ६० जनाको परीक्षण् गर्न बाँकी छ । शुक्रबार एक ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

आइतबार पुष्टि भएकामा ७ वर्षीय बालकदेखि ५८ वर्षका छन् । शनिबार संक्रमण देखिएका पुरुष अजानका लागि जाने गरेको नेपालगन्ज उपमहानगरपालिका ७ महेन्द्र पार्क टोलका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना फोकसल पर्सन नरेश श्रेष्ठले ६० वर्षिय व्यक्तिबाटै अन्यमा संक्रमण सरेको बताए । शुक्रबार कोरोना पुष्टि भएका ती व्यक्ति नेपालगन्ज ५ डिएसपी रोड क्षेत्रका हुन ।

उनी त्यहाँबाट दैनिक तीन चारपल्ट नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पुग्ने गर्थे । उनी भारतबाट नेपाल फर्किएको स्थानीयले बताएका छन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका ६ जना र कार्य क्षेत्रका ९० जनाको स्वाब संकलन गरेर जाँचका लागि भेरी अस्पतालमा पठाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले स्वाब संकलनका लागि संक्रमितलाई ट्रेसिड गरिएको बताए ।

स्थानीय प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी चोक र एकलैनी क्षेत्रलाई पूर्णरुपमा सिल गरिसकेको छ । यस्तै नेपालगन्जका सात वर्षीय बालकमासमेत कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालगन्जमा कोरोनाबाट संक्रमितमध्ये अहिलेसम्म नेपालमै भेटिएका कोरोना संक्रमितमध्ये उनी सवैभन्दा कम उमेरका संक्रमित हुन् । नेपालगन्जमा ३० जनाको स्वास्थ्य परीक्षण गर्ने क्रममा ती बालकमा हल्का ज्वरो लक्षण देखिएको थियो ।

स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण भएको जनस्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार बालकसहित बाँकेमा आइतबार कोरोना संक्रमति भएका सबैलाई आइसोलेशनमा राखिएको छ । आइतबार कोरोना पोजेटिभ देखिएका नेपालगन्जका ९ जना संक्रमित ७ देखि ५८ वर्ष उमेर समूहका छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले पोजेटिभ भेटिएका ९ जना ६० वर्षीय संक्रमितको सम्पर्कमा आएकाहरु भएको बताए ।

गत शुक्रबार भेरी अस्पतालमा प्रयोगशाला परीक्षण (पीसीआर) मा नेपालगन्जको मदरसा पढाउने ६० वर्षीय शिक्षकलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । प्रहरीले कन्ट्रयाक्ट ट्रेसिङ गर्दा ९३ जना संक्रमितको सम्पर्कमा आएको फेला पारेको थियो । तीमध्ये ९० जनाको स्वाब परीक्षण शनिबार संकलन गरिएको थियो । बाँकी तीनसहित केहीको पनि नमूना संकलन भइसकेको छ । आइतबार संक्रमित पुष्टि भएका ९ जनालाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रहरीले स्कटिङ्ग गरेर लिएको थियो ।

डाक्टर थापाले हालसम्म ३० जनाको परीक्षण सकिएको र त्यसमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । साथै थप १० जनाको रिपोर्ट आज अबेर रातीसम्म आउनेछ । आइतबार देखिएका केस हिजोकै कन्ट्याक्ट ट्रेसिङका हुन् । ‘शुक्रबारको फस्ट केसको कन्ट्याक्ट ट्रेसिङ गरेर स्याम्पल लिएका केस हुन् । ३० जनाको परीक्षण गर्दा ९ जनामा पोजेटिभ देखियो,’ उनले भने । बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले थप भेटिएका संक्रमितबारे बुझ्ने काम भइरहेको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालगन्जका ५ पुरुष र ४ महिलामा पोजेटिभ देखिएको हो । शुक्रबार संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुष मदरसाका शिक्षक थिए । लकडाउनले मदरसा बन्द हुँदा घरघरमा गएर पढाउँदै आएका थिए । प्रहरीले उनको कन्ट्याक्ट ट्रेसिङ नै नसकेका बेला नयाँ संक्रमित फेला परेपछि बाँकेबासी त्रसित भएका छन् ।

घर छाडेर मदरसामा बस्थे बाँकेका संक्रमित

भेरी अस्पतालमा ल्याब परीक्षण (पीसीआर)मा कोरोना भाइरस पोजेटिभ देखिएका बाँकेका ६० वर्षीय पुरुष दुई महिनादेखि मदरसामा बस्दै आएको खुलेको छ । अस्पतालका मेडिकल सुपरिडेण्ट डा.प्रकाश थापाले ‘नेपालगन्ज डिएसपी रोड पछाडी घर भई यहाँको एकलाइनीस्थित मदरसामा बस्दै आएको खुलेको बताए । थप जानकारी छैन । फोन पनि रहेनछ । अगाडिबाट कुरा गर्न मिलेन । मोबाइलको व्यवस्था गरेर बुझ्ने प्रयास गर्दैछौं,’ डाक्टर थापाले भने ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले पनि संक्रमितबारे बुझ्ने काम भइरहेको बताए । ‘उनको टोलमा उनीसँग सम्पर्कमा आएका मानिसलाई अलग राख्ने काम सुरु भएको छ । बुझ्ने काम भइरहेको छ । हामी ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ खोज्दैछौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्जका ती पुरुषलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको जानकारी दिएका छन् ।

कोहलपुरमा चारै नाका शिल

बाँकेको नेपालगन्जमा आइतबार एकैदिन ९ जना कोरोना भाइरस संक्रमित भेटिएपछि कोहलपुरमा उच्च सर्तकता अपनाइने भएको छ । नेपालगन्जसँग सीमा जोडिएको कोहलपुर नगरपालिकाले आफ्ना चारै क्षेत्रको नाका बन्द गरिनेछ । नेपालगन्जदेखि १६ किलोमिटर दूरीमा रहेको कोहलपुरका कोरोना भाइरस संक्रमण फैलन नदिन विभिन्न निति अवलम्वन गर्ने नगरपालिकाले बताएको छ ।

शुक्रबार नेपालगन्जका एक बृद्धमा कोरोना भाइरस संक्रमण देखिएपछि शनिबार त्यस क्षेत्रका ९० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ३० जनाको कोरोना परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । अन्य ६० जनाको स्वाब परिक्षणमै रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

२२ हजार नागरिक क्वारेन्टाइनमा

आइतबारसम्म देशभर मै २१ हजार ९५१ जना क्वारेन्टाइनमा रहेका छन् । रुपदेन्हीमा १, नेपालगन्जमा हालसम्म १, धनगढीमा १, विरगञ्जमा ९, भरतपुरमा १ विराटनगरमा ३१ जनाको उपचार भइरहेको थियो । सबैको संक्रमितको अवस्था सामान्य रहेको प्रवक्ता डाक्टर देवकोटा बताउँछन् । नेपालमा पीसीआरबाट १३ हजार ४६९ र आरडिटीबाट ४९ हजार ६८८ नुमना परीक्षण भएको छ ।

कुल ६३ हजार १०२ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४७९ जनाको नमूना परीक्षण भएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ४९९, प्रदेश २ मा ५ हजार ७०९, बागमतिमा ८ हजार ५१५, गण्डकीमा ५ हजार ८३४, प्रदेश ५ मा ४ हजार ४९२, कर्णलीमा ५ हजार ५६७ र सुदूरपश्चिममा १५ हजार ७२ जनाको नमूना परीक्षण भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतवार १८:५७