सूचनाको शक्ति - The Power Of Information

        

कोशी अस्पतालका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन् । विराटनगर १० स्थित केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि बैशाख ५ गतेदेखि कोभिड १९ का संक्रमित व्यक्तिको भर्ना सुरु भएको हो । त्यसयता हालसम्म केन्द्रमा ३१ जना संक्रमति रहेका छन् ।

उनीहरुको नियमित चेकजाँच तथा रेखदेखमा खटिएका चिकित्सक तथा नर्ससहित ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्राले जानकारी दिइन् । डा.मिश्राको अनुसार पहिलोपटक ५ गते मध्यरातमा उदयपुरबाट १२ जना संक्रमित ल्याउदाँदेखि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको छ ।

त्यसयता हालसम्म केन्द्रमा प्रत्येक ६ दिनको अन्तरालमा २५ जनाको ३ वटा टोली प्रत्यक्ष रुपमा संक्रमतिको उपचारमा संलग्न रहदै आएको छ । उदयपुरबाट संक्रमित भर्नासँगै पहिलोसाता खटिएका चिकिस्तकहरुको सुरुवाती एकसाताको क्वारेन्टाइन समयको गणना नहुने भएकाले दोस्रो साताबाट मात्र उनीहरुको क्वारेन्टाइन समय जोडिने डा. मिश्राको भनाइ छ ।

यसबीच सो समय संक्रमितसँग प्रत्यक्षरुपमा अग्रपंक्तिमा खटिएका २८ जनाको स्वास्थ्यकर्मीको क्वारेन्टाइनमा रहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिइन् । यसक्रममा उनीहरुको शुक्रबार स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको उनले बताइन् । यसक्रममा उदयपुरबाट पहिलोचरणमा ल्याइएका १३ जना संक्रमितको समेत शुक्रबार रोजापछि स्वाब संकलन गरिएको र रिपोर्टको पर्खाइमा केन्द्र रहेको छ ।

डा.मिश्रा भने सुरक्षितरुपमा आफ्नै निवासमा क्वारेन्टाइनको समय विताउँदै अन्य कामकाजमा व्यस्त रहेकी छिन् । पहिलोचरणमा संक्रमितसँग उपचारमा खटिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आए पनि सबैजना गएको १५ दिनदेखि होटलकै कोठाभित्र क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहे पनि सुरक्षाका लागि होटलबाहिर घरसम्म पनि नगएको डा.दिपक सिग्देलले जानकारी दिए ।

यसक्रममा २४ घण्टाको एक सिफ्टमा ४ जना चिकित्सक रहने र दुइजना सिनियर चिकिस्तक भने २४ घण्टा नै खटिएकाछन् । त्यसैगरि, पहिलोटोलीसँगै उपचारमा खटिएको ६ दिनपछि, दोस्रो २५ जनाको टोली केन्द्रमा खटिएको थियो र सो टोलीसमेत क्वारेन्टाइनमा रहेको छ । डा. मिश्रा भन्छिन्, ‘हालसम्म ५० जना होटलमा र तेस्रो चरणका २५ जना स्वास्थ्यकर्मी भने होटलको बसाईसँगै केन्द्रमा संक्रमितको उपचारमा खटिनुभएको छ ।’

तेस्रो चरणको टोलीको शनिबारबाट केन्द्रमा नियमित काममा रहदै आएका छन् । सबै स्वास्थ्यकर्मीको क्वारेन्टाइन बसाईको समय पूरा भइनसकेको बताएकी डा.मिश्राले क्वारेन्टाइनमा प्रक्रिया पूरा भएपछि सबैजना कोशी अस्पतालको नियमित कार्यमा फर्कने बताउँछिन् । चिकित्सकहरुलाई सेल्फ क्वारेन्टाइनका क्रममा केन्द्रबाट करिब १ सय मिटरको दूरीमा रहेको एक होटलमा राखिएको छ ।

त्यसैगरि अन्य स्वास्थ्यकर्मीलाई भने मेनरोडस्थित जैन भवनमा राखिएको छ । कोभिड १९ उपचार केन्द्रमा हालसम्म उदयपुरबाट २८ जना, झापाबाट २ र भोजपुरबाट १ जना संक्रमित उपचारका क्रममा रहेकाछन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भएपनि तीनजना मधुमेह र एक जना उच्च रक्तचापको विरामी रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतवार १०:३९