सूचनाको शक्ति - The Power Of Information

        

क्षमा माग्दै रेडियो नेपालले हटायो अनलाइनबाट पूर्वप्रधानमन्त्रीको अन्तर्वार्ता

काठमाडौं । रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता अनलाइनबाट हटाएको छ । रेडियो नेपालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमायाचनासहित डा.बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता हटाएको जानकारी गराएको हो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रेडियो नेपालबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसंवाद अन्तरगत सोमबार विहान ६:३० बजे समाचार प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुस्खी तुल्याएको छ । सो कार्यक्रम लाइभ प्रसारण भएकाले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौँ ।’

यसका साथै रेडियो नेपालले अब उप्रान्त प्रसारण गर्ने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहेन समेत जनाएको छ । रेडियो नेपालबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसंवादमा सोमबार समाचार प्रमुख डा. नवराज लम्सालले चलाएका थिए । रेडियो नेपालले उक्त कार्यक्रम अनलाइनबाट हटाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १८:०३