सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका १२ हजार परिवारलाई राहत

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र स्थायीरुपमा बसोबास गर्ने १२ हजार बढि विपन्न परिवारलाई राहत वितरण गरेको छ । नगरभित्र बसोबास गर्ने विपन्न समुदायका दैनिक ज्याला मजदुरी गर्ने, श्रमिक गरि १२ हजार ४०६ परिवारलाई राहत वितरण गरिएको हो । टोल विकास समिति भएका वडामा समितिले विपन्न घरपरिवार पहिचान गरेको थियो ।

वडा कार्यालयले पहिलो चरणमा विपन्न परिवार छनौंट गरि वडा कार्यालयमार्फत राहत वितरण गरिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणाले जानकारी दिए । प्रतिपरिवार १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा सावुन वितरण गरिएको हो । कतिपय वडामा विपन्न परिवारले आफुहरु छुटेको भन्दै निवेदन दिएकाले राहत प्राप्त गर्नेको सङ्ख्या अझै बढ्ने उपमहानगरपालिकाले जनाएको छ ।

राहत वितरणलाई थप पारदर्शी बनाउन उपमहानगरपालिकाको वेभसाइटमार्फत राहत प्राप्त गर्नेहरुको नाम सार्वजनिक भइरहेको र राहत वितरणका क्रममा सामाजिक दुरी कायम गरिएको छ । पहिलो चरणमा स्थायी बसोबास गर्ने विपन्न समुदायलाई राहत वितरण गरिएकोमा दोश्रो चरणमा नगर क्षेत्रमा भाडामा बस्ने दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्ग र विद्यार्थीका लागि राहत वितरण कार्य वडा कार्यालयमार्फत सुरु भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १५:०८