बाँके । प्रस्तावित लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै ठूलो भेरी अस्पतालमा जडान गरिएको कोरोना परिक्षण गर्ने पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) मेशीन बेकामे बनेको छ । प्रदेश सरकारको लापरवाही तथा भेरी अस्पतालको उदासीनताले उक्त मेशीन बेकामे बनेको हो ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बरालले उक्त मेशीन जडानसँगै कोरोना परिक्षण हुने यसअघि दाबी गरे पनि उनकै अधुरो कामले भेरीमा रहेको मेशीन बेकामे बनेको देखिएको छ । करिब चार दिनअघि भेरी अस्पतालमा कोरोना भाइरस जाँच गर्ने मेसिन जडान भएको थियो ।
बाँके र बर्दियालाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा उक्त मेशीन भेरीमा जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाशबहादुर थापा बताउँछन् । उनकाअनुसार अस्पतालमा मेशीन जडान भएपनि सञ्चालनका लागि आबश्यक सामग्ीको अभावमा समस्या भइरहेको छ ।
जडान गरिएको मेशीन प्रयोगमा नआउदा दैनिक दर्जनौं नागरिक कोरोना परिक्षणबाट बञ्चित हुँदै आएका छन् । उक्त मेशीनमा प्रयोग हुने रिएजेन्ट र भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) नभएकै कारण मेसिन प्रयोगविहीन भएको मेसु डा.थापा बताउँछन् । ‘मसिनसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस जाँच गर्न प्रयोग हुने रिएजेन्ट पनि पठाउनुपर्ने हो,’ उनले भने ।
तर मेसिन जडान भएको चार दिन बितिसक्दा पनि मन्त्रलायले रिएजेन्ट पठाउन चासो नदेखाएपछि मेशीन अलपत्र परेको डा.थापाको भनाई छ । स्वाब संकलन र जाँचका लागि प्राविधिकलाई तयारी अवस्थामा राखे पनि आवश्यक किट र सामग्री नहुँदा मेशीन सञ्चालनमा आउन नसकेको उनी बताउँछन् ।
उनले भेरी अस्पतालमा जडान भएको मेसिन प्रयोगमा नआउँदा संकलन भएका स्वाब सुर्खेत, बुटवल र काठमाडौँ पठाउने गरेको जानकारी दिए । रिएजेन्ट अस्पतालले किन्न सक्ने अवस्था नभएको पनि उनले बताए । बजारमा नपाइने भएकोले मन्त्रालयको मुख ताक्नुको विकल्प नभएको उनको भनाई छ ।
कोरोना भाइरस जाँच गर्ने मान्यतासमेत अहिलेसम्म नदिएको उनको अर्को गुनासो छ । मन्त्रालयले मान्यता नदिएकाले जाँच गर्ने काम अघि नबढ्ने थापाले बताउँछन् । लाखौं मुल्य परेको उक्त मेशीन बेकामे भएपछि अस्पतालले नेपालगन्जको एक स्थानीय मेडिकलमा रहेको मेशीन लगेर कोरोना परिक्षणको तयारी गर्ने योजना अघि बढाएको खुलेको छ ।
मन्त्री बरालको सक्रियतामा जडान गरिएको भनिएको भेरीको उक्त मेशीन मन्त्री बरालकै उदासिनता, ढिलासुस्ती र गैरजिम्मेवारीपनले अलपत्र परिरहेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेका बेला भेरी अस्पतालमा जडान भएको एक साता बितिसक्दा पनि परिक्षणको काम सुरु नभएपछि नेपालगन्जबासी आक्रोशित बनेका छन् ।
सत्यपाटी ।