सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको जोखिम : नेपाली सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

काठमाडौं । नेपाली सेनाले कोरोनाको जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ। साथै सेनाले सोे जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ । यसका लागि सेनाले मातहतका पृतना, वाहिनी र गणस्तरमा आफ्नो तयारी गरिरहेको छ ।

सरकारले सेनालाई कोभिड–१९ को जोखिम रोकथाम र उपचारका लागि २० वटा सघन उपचार कक्ष निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने घोषणा गरिसकेको छ । कोरोना भाइरसका बिरामी देखिएमा आइसोलेशन र क्वारेन्टाइनमा कसरी राखेर उपचार गर्ने भनी आन्तरिक तयारीस्वरुप सेनाले उपचार विधि, प्रक्रिया र अपनाउनुपर्ने आवश्यक सजगताबारे ५० चिकित्सकसहित १८१ जनालाई प्रशिक्षण दिइसकेको छ ।

ती जनशक्तिले केन्द्रमा १० सहित मुलुकभर ५२ स्थानमा नमूना क्वारेन्टाइन र अस्पताल तयार गरिसकेका छन् । सेनाको पूर्वी पृतना मातहत विभिन्न तीन स्थानमा ४४४ श्ययाको क्वारेन्टाइन तयार गरिसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाले कोरोना भइरसबाट सुरक्षित रहन र आवश्यक परेको बखत चुस्त–दुरुस्त रुपले परिचालन हुन सैनिकलाई बिदा बस्न बन्देज लगाइसकेको छ ।

सरकारको निर्णयअनुसार एकै पटक धेरै मानिस एकै स्थानमा जम्मा हुन नदिने उद्देश्यले ससाना समूहमा रहेर बिहान–बेलुका खाना खुवाउने प्रबन्ध मिलाएको सेनाले जानकारी दिएको छ । सेनाले सङ्गठनभित्र स्वास्थ्यसम्बन्धी तालीम लिएका पाँच हजार व्यक्तिको रोष्टर तयार गरिसकेको जनाएको छ । उक्त जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी हालतमा राखेको जानकारी दिइएको छ । सेनाले अहिले स्वास्थ्यसम्बन्धी तालीम लिएका भूतपूर्व सैनिकको पनि खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार ०९:०९