सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा चुनावी चहलपहल, प्रमुख पार्टीद्वारा उम्मेद्वारको नाम सिफारिश

बाँके । बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रामशरण थारूलाई उम्मेदवार सिफारिश गरेको पार्टी नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिइन् ।

नेपाली काङ्ग्रेसले कृष्ण थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिश गरेको छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष रामसोहन थारूको निधन भएपछि सोही पदमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुने भएपछि चुनावी चहलपहल शुरू भएको छ ।

अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार रामसोहन ४२४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका श्रीराम थारूले ३५२ मत प्राप्त गरेका थिए ।

यसैगरी तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारूले २७३, राप्रपाका नेबबहादुर वलीले ८७ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले ५६ मत प्राप्त गरेका थिए । नेपाली काङ्ग्रेसले विगतको विरासत जोगाउन लागिरहेको छ भने नेकपाले जित आफ्नो पक्षमा पार्ने दाउमा छ ।

वडामा राजनीतिक प्रभाव राख्ने कार्यकर्तालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु लागिपरेका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका रामसोहन थारूको २०७५ मङ्सिर ९ गते निधन भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार ११:०५