सूचनाको शक्ति - The Power Of Information

        

सीमानाकामा तस्कर सक्रिय, प्रहरीकै सहयोगमा भारतबाट भित्रिँदै अवैध कुखुरा

बाँके । खुला सिमानाका कारण भारतबाट बोईलर कुखुरा नेपालगन्ज भित्रिदा नेपाली कुखुरा पालक किसान मर्कामा परेको गुनासो गरेका छन् । कुखुरा तस्करहरुले पर्वलाई लक्षित गरी भरातबाट बोइलर कुखुरा विभिन्न नाका हुँदै साइकल, मोटरसाइकलमा राखेर नेपालगन्ज ल्याउदा नियन्त्रण गर्ने निकायले चासो नदिको नेपाली कुखुरा व्यावसायी किसानको गुनासो छ ।

नेपालगन्ज–१७ का एक कुखुरापालक किसान आफ्नो परिचय नखुलाउने सर्तमा भन्छन्, ‘नेपालमा उत्पादन गरिएका कुखुरा भन्दा भारतमा उत्पादित कुखुरा सस्तो तथा बढी तौल र मुल्य पनि सस्तो हुने भएकोले तस्करहरु सक्रिय भएका हुन । भारतमा उत्पादन गरिएका कुखुरा हार्मोनको इन्जेक्सन लगाएर २५ दिनमै ३ किलो हुने यता ४५ दिन पाल्दा पनि २ किलो हुन कठिन हुन्छ ।’

उनले भारतमा जिउदो १२० प्रतिकिलो यता २२० पर्ने भएको कारण तस्करी बढेको उनी बताउँछन् । ‘हामीले तस्करी रोकिदिनु पर्यो भनेर प्रहरी प्रशाशनमा हारगुहार गर्दा प्रहरी प्रशासनबाटै तस्करलाई सूचना लिक गरी उल्टो हामीलाई नै धम्काउन लगाइन्छ,’ उनले भने, ‘सबै अड्डाका घुमुवाले नै तस्करलाई सूचना दिएर तस्करी गराएपछि हाम्रो लगानीको सुरक्षा कसले गरिदिने ?’

उनले हरेक दिन मोटरसाइकलमा बोरा, क्रेट र साइकलमा राखेर डेढसय क्वीन्टल भारतमा उत्पादन भएको कुखुरा नेपालगन्ज भित्रिने र त्यो कुखुरा नेपालगन्ज लगायत अन्य ठाँउहरुमा पनि पठाइने गरेको दाबी गरे । हार्मोन तथा भिटामिन बढी प्रयोग गरी उत्पादन भएका कुखुराको मासु खान मानव स्वास्थ्यमा समेत असर पर्ने चिकित्सकको राय छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौला कुखुरा आयातमा प्रतिबन्ध भए पनि आफुहरु छड्के गस्तीमा जाँदा समेत तस्करीको कुनै पनि बस्तु फेला नपर्ने गरेको बताउँछन् । उनले भने, ‘हामी कार्यालयबाट निस्कने बित्तिकै सूचना लिक भएर हो वा के हो छड्के गस्तीमा जाँदा केही पनि भेटिदैन ।’

यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले भारतबाट नेपालतर्फ कुखुरा तस्करी हाल नभएको दाबी गरे । उनले भने, ‘हामीले भारतबाट नेपाल ल्याउन लागेका पंक्षी तथा पंक्षीजन्य उत्पादन रोक्ने गरेका छौं । कहीँकतै लुकाईछिपाई ल्याइने गरेको भए त्यसलाई समेत रोकिनेछ ।’

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १९:३१