सूचनाको शक्ति - The Power Of Information

        

रिटायर्ड नायब सुब्बालाई जिन्सी शाखाको जिम्मा, प्रमुख प्रशासकीय अधिकृत भन्छन्, ‘जनप्रतिनिधिसँगै बुझ्नुस्, मलाई थाहा भएन’

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले अवकास प्राप्त (रिटायर्ड) कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्ति गरेको रहस्य बाहिर आएको छ । साविकको नरैनापुर गाविसमै सचिव रहेका रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकासपछि पनि गाउँपालिकाले नियुक्त गरेको रहस्य बाहिर आएको हो ।

निजामति सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम व्यक्तिगत विवरण (सिटरोल) मा उल्लेखित जन्ममिति अनुसार २०७५ मंसीर ३ गते ५८ बर्ष पुरा भएपछि उनले अनिवार्य अवकास पाएका थिए । अनिवार्य अवकासपछि पनि उनी हालसम्म नरैनापुर गाउँपालिकामै कार्यरत रहेको पुष्टि भएको छ ।

कर्मचारी संकेत नं. १२२३३६ रहेका खाँ अनिवार्य अवकास भएको भन्दै मिति २०७५ बैशाख ७ गते नै जिल्ला समन्वय समितिलाई जानकारी पत्र पठाइसकेको छ । उक्त पत्र मिति २०७५ बैशाख २६ गते जिल्ला समन्वय समितिमा दर्ता भएको देखिन्छ । तर उनी हालसम्म पनि नरैनापुर गाउँपालिकामै कार्यरत रहेका छन् ।

अवकास प्राप्त कर्मचारी खाँ अहिले पनि गाउँपालिकाको जिन्सी प्रशासन तथा खरीद इकाई प्रमूखका रुपमा कार्यरत छन् । यसबाट उनले राज्य कोषको चरम दुरुपयोग गर्दै दोहोरो सुविधा लिइरहेका छन् । उनले अवकासपछि पाउने पेन्सन, औषधोपचार र अन्य सुविधाहरुका साथै गाउँपालिकाको कर्मचारीका रुपमा तलब भत्ताका साथै अन्य सेवा सुविधा लिँदै आएका छन् ।

स्थायी कर्मचारीलाई पन्छाएर अवकास लिइसकेका कर्मचारीलाई पुनः नियुक्ती गरी महत्वपूर्ण जिम्मेवारी दिएपछि गाउँपालिकाका कर्मचारीहरुसमेत रुष्ट बनेका छन् । कार्यालय स्रोतले भन्यो, ‘स्थायी कर्मचारीलाई जिम्मेवारी नदिएर अवकास लिइसकेका कर्मचारीलाई पुनः नियुक्ती गरेर महत्वपूर्ण शाखामा हालीमुहाली गर्न दिएको छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले अवकास प्राप्त कर्मचारी खाँ गाउँपालिकामै कार्यरत रहेको स्वीकार गरे पनि थप जानकारी दिन चाहेनन् । उनले यस विषयमा जनप्रतिनिधिहरुसँग बुझ्न भन्दै पन्छिए । गाउँ कार्यपालिकाले निर्णय गरेको तर्फ संकेत गर्दै उनले भने, ‘जनप्रतिनिधिसँगै बुझ्नुस्, उहाँहरुले गरेको निर्णयबारे मलाई थाहा भएन ।’

गाउँपालिकाका एक जना वडाध्यक्षले भने, ‘अहिलेसम्म भएको व्यवस्था अनुसार ५८ वर्षमा अनिवार्य अवकास हुनुपर्छ । उहाँले काम गरिरहनुभएको छ, मलाई थाहा भएको त्यतिमात्रै हो । नियुक्ती कसरी हुनुभयो, कहिले हुनुभयो भन्ने मलाई थाहा छैन ।’

कार्यालय स्रोतका अनुसार कर्मचारीले दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि इस्माइल खाँले पेन्सनसँगै गाउँपालिकाबाट पाउने सेवा सुविधा लिइरहेका छन् । ‘अझ गाउँपालिकामा उहाँकै हालीमुहाली छ, उहाँले जे भन्यो त्यही हुन्छ,’ स्रोतले भन्यो । यस विषयमा मोहम्मद इस्माईल खाँसँग सम्पर्क गर्न खोज्दा उनको ९८४८०८३२८५ नम्बरको मोवाइल स्वीच अफ गरिएका कारण सम्पर्क हुन सकेन ।

 

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १३:४७