सूचनाको शक्ति - The Power Of Information

        

डुडुवा र राप्तीसोनारीमा ‘अति भो’

बाँके । बाँकेका ग्रामीण बस्तीमा बालबिवाह र महिला हिंसा बढ्न थालेपछि न्यूनीकरणका लागि ‘अति भो’ नाटक शीर्षकमा कचहरी नाटक अभियान सञ्चालन गरिएको छ । ग्रामीण बस्तीमा बालबिवाह र महिला हिंसा न्यूनीकरणका लागि ‘अति भो’ अभियान सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।

पछिल्लो समयमा बालबिवाह र महिला हिंसा, मानव वेचविखनका घटना अत्याधिक बढेपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको स्थानीयहरुले बताएका छन् । महिला र बालवालिकामाथि हुने हिंसा अन्त्यका लागि ‘अति भो’ नाटक बाँकेका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

अक्सफाम नेपाल र स्याक नेपालको साझेदारीमा राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ‘अति भो’ प्रदर्शन भइरहेको छ । महिला तथा बालिकाविरुद्ध हुने हिसा अन्त्यका लागि अभियानका कार्यक्रम संयोजक रामकुमारी चौधरीले बताइन् । राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ३० पटक ‘अति भो’ कचहरी नाटक प्रदर्शन गरिने कार्यक्रम संयोजक चौधरीले बताइन् ।

उनका अनुसार राप्तीसोनारी गाउँपालिकामा १२ पटक र डुडुवा गाउँपालिकामा ६ पटक गरी १८ पटक ‘अति भो’ कचहरी नाटक प्रदर्शन गरिने कार्यक्रम संयोजक चौधरीले बताउनुभयो । तीन बर्षदेखि कचहरी नाटक प्रदर्शन गर्दै आएकोले यसले स्थानीय निकायमा सकारात्मक प्रभाव पारेको कचहरी नाटकका कृष्ण गिरीले बताए ।

नाटकले बालविवाह गर्ने प्रवृत्ति कम हुदै गएको गिरीको भनाई छ । ‘नाटकमा बालबिवाह र महिला हिंसाको समस्यालाई समुदायले पहिलो चरणमै कसरी समाधान गर्नपर्छ भन्ने सन्देश समेटिएको छ,’ गिरीले भने । स्थानीयस्तरमा रहेका सवालमा आधारित भएर ‘अति भो’ नाटक गरिएकाले राम्रो सन्देश गएको कलाकार हेमा पाण्डेले बताइन् ।

स्थानीयहरुले आफ्ना छोरीहरुको बिहे २० बर्ष उमेर पुगेपछि मात्रै गर्ने प्रतिवद्धतासमेत जनाउने गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार नाटकमा महिला तथा बालिकाहरु कसरी हिंसामा पर्छन्, सानो उमेरमा बालविवाह गर्दा पर्ने नकारात्मक असरहरु र यी समस्याबाट बच्ने उपायका बारेमा सन्देश दिने गरेको छ ।

स्थानीय सवालहरु समेटिएको हुँदा महिला हिंसा तथा बालबिवाह न्यूनीकरणमा उल्लेखनीय भूमिका खेल्न सक्ने कुरामा आफु विश्वस्त रहेको राप्तीसोनारी–५ की समाजसेवी मिठुदेवी बस्नेतले बताइन् । उनले महिला हिंसा तथा बालबिवाह न्यूनीकरणका लागि सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार ०६:५१