बाँके । सोमबार साँझ अचानक खजुरा गाउँपालिका–३ मा खेलाबैला मच्चियो । गाउँका धेरै जना घरबाहिर बसेका थियौं । केही व्यक्तिहरु दोडेर होहल्ला गर्दै हामी भएतिर आउँदै थिए,’ स्थानीय दिलबहादुर श्रीसले भने ।
भाग्दै आफूहरु भएको ठाउँमा आइपुगेका दुई जनाको छातीमा चिथोरिएको र रगत बगिरहेको उनले बताए । अचानक केही व्यक्तिहरु होहल्ला गर्दै आफुहरु भएको स्थानमा आएपछि हामीहरुले सोध्यौं, ‘तपाईहरुलाई के भयो ?’
उनीहरुलाई कसले आक्रमण गर्यो भन्नेसम्म जानकारी थिएन । उनीहरुले भने बाघ हो की कसले हो आक्रमण गर्यो भन्ने जवाफ दिए । घाइते दुई जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाका प्रत्यक्षदर्शी दिलबहादुर श्रीसका अनुसार, बाघले खोलामा कछुवाको खोजी गर्ने इन्द्रपुरका स्थानीयको टोलीलाई आक्रमण गरेको थियो ।
पाटेबाघले किरण खोलामा आक्रमण गरेपछि ज्यान जोगाउन उनीहरु नजिकैको धौलागिरी गाउँतर्फ भागेको थिए । घटनापछि स्थानीयहरु कुकुरसहित खोलातिर गए । दिलबहादुरले भने, ‘खोला किनारमा पुगेपछि कुकुर भुक्न थाल्यो । त्यसको केही मिनेटमै हामीहरुसँगै दिपबहादुर श्रीसलाई बाघले झम्टियो । हामीले के भयो भन्ने थाहा नै पाएनौं ।’
दिलबहादुरका अनुसार बाघले दिपबहादुरलाई आक्रमण गरेर भुइँमा लडाएपछि बाघमाथि ढुगांमुढा गर्दै छुटाइएको थियो । ढुंगामुढा र होहल्ला गरेपछि बाघ त्यहाँबाट भाग्यो । ‘बाघको आक्रमणमा घाइते दिपबहादुरलाई अस्पताल ल्यायौं,’ दिलबहादुर भने ।
नेपालगन्जदेखि करिब ९ किलोमिटर दक्षिण पश्चिममा रहेको किरण नालाको झाडीमा लुकेर बसेको बाघले दिपबहादुरको श्रीसको देब्रे पाखुरा ढाड र शरिरका अन्यभागमा आक्रमण गरी घाइते बनाएको छ । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटना भएको स्थानमा डिभिजन वन कार्यालय बाँके, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासीको टोलीले बाघको खोजी गरिरहेको र अन्य घाइते दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
घटना भएको स्थान नजिकै बस्ती छ भने नालाको दुबै छेउमा बाक्लो झाडी छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ गाउँमा प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ । यसअघि पनि गत माघमा बाँके र बर्दियाको सीमामा रहेको गौघाट–सीतापुर जोड्ने पक्की पुल नजिकै बाघको आक्रमणमा परी स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको थियो ।
सत्यपाटी - ।