सूचनाको शक्ति - The Power Of Information

        

अपराध अनुसन्धानमा ‘गौरी’ र ‘जमुना’, पश्चिम क्षेत्रमा मच्चाउँदै तहल्का

बाँके । कुकुरलाई मानिस साथी र रक्षक हो । घरको सुरक्षादेखि अपराधी पत्ता लगाउने कामसमेत कुकुरको प्रयोग हुँदै आएको छ । विश्वमा प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै आएका छन् । जसका कारण ठुला अपराधमा संलग्नहरु पनि प्रहरीको फन्दामा पर्ने गरेका छन् ।

अरु मुलुकहरुमा जस्तै नेपालमा पनि प्रहरीले कुकुरको सहायताले अपराध अनुसन्धान गर्ने र ती अपराधमा संलग्नलाई पत्ता लगाउँदै आएको छ । कतिपय अवस्थामा अनुसन्धान अधिकृतहरुले पत्ता लगाउन नसकेका घटनाको वास्तविकता कुकुरले बाहिर ल्याइदिन्छन् । कुकुरकै सहयोगमा पक्राउ परेका अपराधीहरु वास्तविक अपराधी हुन् भन्ने विश्वास पनि गर्न थालिएको छ ।

नेपालमा गृह मन्त्रालयले अन्य शाखाजस्तै नेपाल प्रहरीभित्र कुकुर शाखाको स्थापना गरेर अपराध अनुसन्धानमा सक्रियता देखाएको छ । २०७० सालको निर्वाचनसँगै बाँकेको कोहलपुरमा रहेको कुकुर शाखामा सात वटा कुकुर ल्याइयो । जसमध्ये दुई वटा कुकुर ड्रक्स एण्ड एक्सप्लोसिभ सर्च (लागुऔषध र विष्फोटक पदार्थ पत्ता लगाउने)को विज्ञ नै छन् ।

यस क्षेत्रमा अपराध अनुसन्धानमा ‘गौरी’ र ‘जमुना’ खटिएका छन् । यी दुईले पश्चिम क्षेत्रमा तहल्का नै मच्चाएको प्रहरी अधिकारीहरुको दावी छ । दुवै आ–आफ्नो ‘डिउटी’मा खटिए । उनीहरुले भारतबाट नेपाल प्रवेश गर्ने हरेक मानिसको जाँच गरे । ‘गौरी’लाई लागुऔषध ‘जमुना’लाई विष्फोटक पदार्थ खोज्ने जिम्मा दिइएको थियो । ‘गौरी’ र ‘जमुना’लाई सँगै रहेका प्रहरीको टोलीले पछ्याइरहेको थियो ।

‘जमुना’ले केही फेला पारिन तर, ‘गौरी’ निकै व्यस्त भइरहेकी थिई । ‘गौरी’ र ‘जमुना’लाई लिएर लागुऔषध अनुसन्धान ब्यूरोको टोलीले सोमबार साँझ ५ देख ७ बजेसम्म सीमा नाका जमुनाहामा चेकजाँच गरेको थियो । ‘गौरी’ले केही व्यक्तिमाथि शंका गरेपछि प्रहरीले उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पार्यो । त्यस क्रममा प्रहरीले लागुऔषधसहित सात जनालाई पक्राउ गर्यो ।

‘गौरी’ र ‘जमुना’ले गरेको कुनै पनि अनुसन्धान असफल नभएको प्रहरीको दावी छ । सोमबार एकैपटक ‘गौरी’ले सात जना व्यक्तिलाई लागुऔषधसहित ब्यक्तिलाई पक्रिन सहयोग गरेपछि अपराध अनुसन्धानमा सहयोग पुर्याउदै आएका विज्ञ कुकुरको चर्चा चुलिएको छ । अपराध अनुसन्धानमा सक्रिय कुकुरको सहयोगले प्रहरीलाई ठूलो उपलब्धी समेत मिलेको नेपाल प्रहरीको कुकुर शाखा कोहलपुरका प्रहरी निरीक्षक बासुदेव सुवेदी बताउँछन् ।

‘कुकुर आफैंले अपराधी समातेर ल्याउदैन, अपराधीसम्म पुग्न बाटो देखाउँछ, तालिम प्राप्त कुकुरलाई घटना स्थलमा भेटिएका प्रमाणलाई सुझबुझकासाथ सुँघाउने हो भने अपराधी पत्ता लगाउन मद्दत मिल्छ,’ कुकुरको सहयोगले प्राप्त गरेका उपलब्धीका बारेमा सुनाउँदै प्रहरी निरीक्षक सुवेदीले भने, ‘अपराध र बाटो पत्ता लगाउने कार्यमा कुकुरबाट धेरै सफलता प्राप्त भएको छ ।’

कोहलपुरमा कुकुर शाखा स्थापना भएपछि हालसम्म १५३ वटा सानाठूला घटनाको अनुसन्धान गरिएको बताउँदै सुवेदीले भने, ‘११ वटा ठूला घटनामा सफलता मिलेको छ ।’ यसअघि मध्य तथा सुदूरपश्चिमलाई कार्यक्षेत्र बनाएको कुकुर शाखा कोहलपुरले कर्णाली प्रदेश र प्रदेश पाँचमा अपराध अनुसन्धानमा सक्रिय रहेको छ । कर्णाली प्रदेश कार्य क्षेत्र रहेको शाखाले प्रदेश ५ को बुटलदेखि पश्चिम कर्णाली पुलसम्म पनि आफ्नो कार्यक्षेत्र बनाएको छ ।

‘प्रहरीको आँखा छलेर अपराधीले अपराध गर्छन्, कतिपय चलाख अपराधीले प्रहरीलाई झुक्याउने हुँदा सहजै उम्किने गर्छन् । तर, विज्ञ कुकुर जब अनुसन्धानमा खटिन्छन् अपराधी उम्कन पाउँदैन । मै हु भन्ने अपराधीको पनि विज्ञ कुकुरको अगाडी केही लाग्दैन,’ निरीक्षक सुवेदीले भने । भीआइपी सुरक्षादेखि पुल, कल्भटसम्म हुने अपराध र अपराधीको खोजीमा सक्रिय कुकुर शाखाले माग भएअनुसार सेवा प्रवाह गरिरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

लागुऔषध अनुसन्धान ब्यूरो नेपालगन्जका प्रमुख बीरबहादुर थापका अनुसार नेपालगन्ज नाका लागुऔषध बोक्ने नाका बनेको छ । ब्यूरोको टोली रातदिन खटिदा पनि कारोबारीले कुनै न कुनै माध्यमबाट लागुऔषध नेपालगन्ज भित्र्याइरहेका छन् । नाकाबाट फुत्किएका कारोबारी तथा प्रयोगकर्ताहरु बाँकेका विभिन्न स्थानबाट पक्राउ परिरहेका छन् । ‘लागुऔषध भित्रिन नदिन हामी रातदिन लागेका छौं,’ उनले भने ।

नेपालगन्ज नाकाबाट भारतीय शहर रुपैडिहामा गएर लागुऔषध सेवन गरेर फर्किनेको संख्या अझ ठूलो रहेको छ । ‘जति नै कडाई गरेपनि लागुऔषध भित्रिन छोडेको छैन,’ ब्यूरोका प्रमुख थापाले भने, लागुऔषधले त नेपालगन्ज शहरमात्रै होइन, ग्रामीण बस्तीसमेत तहसनहस हुन थालिसके ।’ सधैं भीडभाड रहने नाका भएको र सामानका बीच या जहाँ पनि लुकाएर ल्याउन सक्ने भएकाले सोझो बाटोबाट लागुऔषध भित्रिरहेको छ ।

जिल्लाका छोटी नाकाबाट भित्रिनेलाई त कुनै चिन्ता नै छैन । कारोबारीहरु माल बोकेर सहजै गन्तब्यमा पुग्ने गर्दछन् । नेपालगन्ज नाकाबाट भित्रिएको लागुऔषध दाङ, प्यूठान, रुकुम, रोल्पा, सुर्खेत, दैलेख, जुम्लामात्रै होइन, राजधानीसम्म पुग्ने गरेको अधिकारीहरु बताउँछन् । प्रहरीले बेलाबेलामा नाकामा कुकुरसहित जाँच गर्ने गरेको छ । ब्यूरोका इन्चार्ज थापाले लागुऔषध प्रयोगकर्ता बढेकाले नियमित जाँच गर्ने अभियान नै थालेको बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १४:०९