सूचनाको शक्ति - The Power Of Information

        

बिस्फोटक पदार्थसहित ‘विप्लव’का पोलिट्ब्युरो सदस्य बम पक्राउ

बाँके । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य भरतबहादुर बम नेपालगन्जबाट पक्राउ परेका छन् । पोलिट्ब्युरो सदस्य बमलाई प्रहरीले जानकी गाँउपालिका–६, गनापुरबाट आज पक्राउ गरेको हो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बमको पक्राउलाई पुष्टि गरे । उनका अनुसार बम बिस्फोटक पदार्थ र पार्टीका महत्वपूर्ण दस्तावेजसहित पक्राउ परेका हुन् । पक्राउ परेका बममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

गत फागुनमा सरकारले ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बाँकेमा पोलिट्ब्युरो सदस्य बमसहित ७ जना पक्राउ परेका छन् । प्रहरी उपरीक्षक पौडेलका अनुसार ५ जना विप्लव कार्यकर्ताले आत्मसमर्पण गरिसकेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १७:३१