बुटवल । प्रदेश नम्बर पाँच औद्योगिक ‘हब’का रूपमा विकास हुँदै गएको छ र ठूला उद्योग खुल्ने क्रम बढेको छ । प्रदेश सरकारको वस्तुस्थिति विवरण अनुसार यहाँ ५८२ वटा ठूला उद्योग छन् । साना तथा घरेलु उद्योगहरूको सङ्ख्या २३ हजार ४८४ छ । पछिल्लो समय ठूला सिमेन्ट उद्योग बढ्ने क्रम छ ।
देशमा क्लिङ्कर आयात गरी सिमेन्ट उत्पादन गर्ने ३६ मध्ये २१ उद्योग यहाँ छन् । आफ्नै क्लिङ्कर उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने ११ मध्ये पाँच उद्योग यही प्रदेशमा छन् । देशका १८ वटा रड उद्योगमध्ये आठवटा यहीँ केन्द्रित छन् । पछिल्लो समय मैदा, कुखुराको दाना, ह्याचरी, प्लास्टिकजन्य उत्पादन, कागज, प्लाइउड, फोम, फुटवेयरजस्ता ठूला उद्योगसमेत बढेका छन् ।
खाद्यान्नमा चाउचाउ, बिस्कुट, चप्पल जुत्ता, दाल, मैदा तथा औषधि, बियरलगायतका उद्योग पनि थपिएका छन् । यो वर्ष भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजमा १८ उद्योगीले उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गरिरहेका छन् । औद्योगिक सहजताका लागि पछिल्लो समयमा बाँके र रुपन्देहीमा नयाँ औद्योगिक क्षेत्र खुल्दैछन् । तिनमा करिब एक हजार उद्योग थपिनेछन् ।
आर्थिक वर्ष ०७४/०७५ मा मात्रै यो प्रदेशमा ५३ वटा ठूला उद्योग स्थापना भएका थिए । सबैभन्दा धेरै २३ वटा मझौला उद्योग खुलेका छन् । यी उद्योगमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपियाँ लगानी भएको छ । प्रतिशतका हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७० प्रतिशतभन्दा बढी लगानी थपिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क छ ।
स्वदेशी सँगसँगै उद्योगमा विदेशी लगानीसमेत उत्साहजनक रूपमा बढिरहेको छ । प्रदेशको वस्तुस्थिति विवरण अनुसार प्रदेशमा १७८ वटा विदेशी लगानीका उद्योग छन् । त्यसमध्ये ११० वटा साना, ३९ मझौला र २९ वटा ठूला उद्योग छन् । ती उद्योगमा १३ अर्ब ६३ करोड लगानी भएको छ । गत आर्थिक वर्षमा मात्रै यहाँ चार अर्ब ३८ करोड २९ लाख १० हजार वैदेशिक लगानी भित्रिएको थियो ।
प्रदेशमा सबैभन्दा धेरै वैदेशिक लगानी नवलपरासी पश्चिम र रुपन्देहीमा छ । यहाँका उद्योगमा भारत, चीन, जापान, अमेरिका, डेनमार्कलगायतले लगानी गरेका छन् । पछिल्लो समय चिनियाँहरू औद्योगिक लगानीका लागि आकर्षित छन् । त्यसका लागि उनीहरू अध्ययन गर्न आउनेक्रम पनि बढेको छ । भारतको बेलहिया नाका हुँदै ल्याइने कच्चा पदार्थका लागि यस क्षेत्रमा उद्योग खोल्नु व्यवसायीका लागि लाभदायक हुने भएकाले चिनियाँ लगानीकर्ता आकर्षित भएका हुन् ।
यो प्रदेशमा सबैभन्दा धेरै ३२० वटा ठूला उद्योग पनि रुपन्देहीमा छन् । बाँकेमा १८५ र कपिलवस्तुमा ११० वटा ठूला उद्योग छन् । यसपछि बर्दिया, दाङ, नवलपरासी पश्चिम औद्योगिक हबका रूपमा अघि बढेका छन् । दाङ र रुपन्देही पछिल्लो समय सिमेन्ट हबका रूपमा विकास भएका छन् । प्रदेशका करिब ४५ हजार मानिस ठूला उद्योगमा रोजगार छन् । यो प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरी ठूला उद्योगका माध्ययमबाट राजस्व सङ्कलन र रोजगारी बढाएर प्रदेशलाई समृद्ध बनाउने रणनीति भएको बताउँछन् ।
उनका अनुसार प्रदेशले त्यसैअनुसारको औद्योगिक नीति बनाएर व्यवस्थापन गर्दैछ । प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ भारतसँगको आयात निर्यातका लागि सहज र नजिकको दूरी भएको प्रदेश भएकाले ठूला उद्योगमा लगानी गर्न उद्योगीहरू आकर्षित भइरहेको बताउँछन् । श्रेष्ठ भन्छन्, ‘कच्चा पदार्थ आयातका लागि भारतसँग नजिकको दूरी कम आसपासमै पनि औद्योगिक कच्चा पदार्थको उपलब्धता र सुरक्षा चुनौती कम हुनाले पनि औद्योगिक लगानी बढेको हो ।’
यो प्रदेशमा उद्योगीहरू आकर्षित हुनुको अर्को कारण हो, नाकामा सुरक्षा र सहज अवस्था । वीरगन्जपछिको ठूलो नाका बेलहिया अन्यत्रका तुलनामा सहज, शान्त र सुरक्षित छ । अन्यत्र विभिन्न कारणले अवरोध हुँदा यो नाका निर्बाध सञ्चालनमा रहन्छ । विगतको मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बेलासमेत यो प्रदेशको मुख्य नाका बेलहियामा कुनै अवरोध भएन । आयात निर्यात रोकिएन । आसपासका उद्योगहरू यथावत् सञ्चालन भए । यही कारणले पनि रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिममा उद्योग खुल्ने र विस्तार हुने क्रम बढे ।
भौतिक पूर्वाधारको विकास र सडक सञ्जाल बढ्दै गएका कारण पनि उद्योगीहरू यहाँ आकर्षित हुने गरेका छन् । सडक सञ्जालकै कारण जाँदा दाङ र बाँकेमा ठूला उद्योग खुलेका छन् । उद्योगीहरूको संस्था रुपन्देही उद्योग सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारी बुद्ध जन्मस्थलको महìव बढ्दै जानु, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हँुदै जानु, सडक सञ्जाल विस्तार हुनुजस्ता कारणले अबका वर्षमा औद्योगिक लगानी झन् बढ्दै जाने बताउँछन् । अधिकारीका अनुसार निजी क्षेत्रले साना उद्योगमा लगानी थप्ने र ठूला उद्योगमा परिणत गर्ने काम पनि गरिरहेका छन् ।
सत्यपाटी - ।