बाँके । भूमि सुधार तथा मोलपोत कार्यालय बाँकेको ढड्डा ब्यक्तिको घरमा फेला परेको छ । सोही ढड्डाको आधारमा जिल्ला प्रहरी कार्यालय कार्यालय बाँकेले सरकारी कागज किर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका ६ जना कर्मचारी, दुईजना बर्दियाका र दुईजना बाँकेका लेखनदासलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मालपोत कार्यालय बाँकेका नासु रामबहादुर खड्का, रुद्र देवकोटा र टंक शर्मा तथा कम्प्यूटर कर्मचारी यज्ञश्वर वली र प्रेमचन्द्र ठकुरी पक्राउ परेका हुन् । यसैगरी लेखनदास विरबहादुर खड्का पनि पक्राउ परेका छन् । यस्तै मालपोत कार्यालय बाँकेका पूर्वअधिकृत हाल जिल्ला हुलाक कार्यालय बाँकेका पुष्पा श्रेष्ठलाई समेत पक्राउ गरिएको छ । यसैगरी भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका नासु कृष्णलाल शर्मा र खरिदार भूमिराज पोख्रेलसमेत पक्राउ परेका छन् ।
नेपालगन्जमा बस्दै आएका भारतीय नागरिक जुनेद अन्सारी र खैरुल हसन अन्सारीले जग्गाको कारोबार गर्दै आएका थिए । करिब डेढ महिना पहिले जुनेद सम्पर्कविहिन भए । हराएको भोलीपल्ट भारतमा एकजना ब्यक्तिको शव भेटियो । केही दिनपछि जुनेदले लगाएको कपडाको आधारमा परिवारले शवको पहिचान गर्यो । लगत्तै परिवारका तर्फबाट खैरुलविरुद्धमा जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण तथा ज्यान मुद्धा जाहेर भयो । खैरुल दुई सातादेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले मृतक जुनेदको घरबाट मालपोत कार्यालय बाँकेको सरकारी लिखत भएको प्रमाणित ढड्डा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । ढड्डामा सरकारी जग्गाको श्रेष्तासमेत फेला परेपछि प्रहरीले सरकारी कागज किर्तेको विषयमा थप अनुसन्धान अघि बढाउँदै संलग्न देखिएका कर्मचारीलाई पक्राउ गरेको हो । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले आफु कार्यालय प्रमुखको रुपमा आउनुअघिको घटनामा कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए ।
मालपोतका अनुसार, बागेश्वरी मन्दिर नजिकैको खाल्डो भएको जमिन करिब ५ कठ्ठा र कारकादौंमा ५ कठ्ठा १३ धुर जग्गाको कागजात किर्ते गरिएको प्रहरीको दावी छ । मालपोतको यो घटना कार्यालय प्रमुख प्रेम दौल्याल आउनुभन्दा अगाडीको हो । मंगलबार कार्यालयमा काम गरिरहेको अवस्थामा भेटिएका प्रमुख दौल्यालले एकसाथ धेरै कर्मचारी अनुपस्थित भएपछि कामकाज प्रभावित हुन नदिन प्रयास गरिएको बताए ।
सत्यपाटी - ।