बिबिसी । इथियोपियामा १५७ जनाको ज्यान जाने गरि बोइङ ७३७ म्याक्स एट दुर्घटनामा परेपछि चीनले बोइङ ७३७ म्याक्स एट विमानको व्यवसायिक उडान तत्कालका लागि बन्द गरेको छ । चीनको उड्डयन सम्बन्धी प्रशासकिय निकायले स्थानीय एयरलाइन्सलाई बोइङ ७३७ म्याक्स एट मार्फत हुने उडान रोक्न निर्देशन दिएको बिबिसीले जनाएको छ ।
इथियोपियन एयरलाइन्सको विमान आइतबार उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा रहेका ३५ देशका १५७ जनाको ज्यान गएको छ । पछिल्लो पाँच महिनामा बोइङ ७३७ म्याक्स एट विमान दुर्घटनामा परेको यो दोस्रो घटना हो । लायन एयरले सञ्चालन गरेको यहि मोडलको विमान गएको अक्टोबरमा उडेको केही मिनेटमै दुर्घटना हुँदा १८९ जनाको ज्यान गएको थियो ।
चीनको नागरिक उड्डयन प्राधिकरणले वक्तव्य जारी गरेर नयाँ मोडलको बोइङ ७३७ म्याक्स एटका दुई विमान दुर्घटना भएको र दुवै उडेको केही समयमै दुर्घटनाग्रस्त भएकाले तत्कालका लागि यो विमान मार्फत उडान नगर्न भनेको छ । एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्ससहितका एयरलाइन्सको उडान प्रभावित हुने भएको छ । चीनमा ९० भन्दा बढी बोइङ ७३७ म्याक्स एट विमान सञ्चालनमा छन् । यो विमानको व्यवसायिक प्रयोग सन् २०१७ देखि हुन थालेको हो ।
।