सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेत र दैलेखमा निगरानी समूह गठन

कर्णाली प्रदेशका १० जिल्लामा उजूरीको सङ्ख्या हेर्ने हो भने सुर्खेत र दैलेखमा धेरै उजूरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार आव २०७५÷७६ को माघ मसान्तसम्म सुर्खेतमा परेका १४७ उजूरीमध्ये ५० फछर्यौट भएका छन् ।

दैलेखमा ११८ उजूरीमध्ये ३३ फछर्यौट भएका छन् । कर्णाली प्रदेशभरि यस आवको माघ मसान्तसम्ममा ६६९ उजूरी परेकामध्ये १८७ उजुरी फछर्यौट भएका छन् भने ४८२ उजूरीमा छानबीन भइरहेको छ ।

उजूरी पर्ने तेस्रो जिल्लामा जाजरकोट परेको छ । ९१ उजूरीमध्ये २१ फछर्यौट भएका छन् भने ७० वटा उजूरीमा छानबीन भइरहेको छ । उजूरी धेरै परेका सुर्खेत र दैलेखमा, भ्रष्टाचार निवारण अभियानमा जनतालाई सक्रिय सहभागी गराउन आयोगले अभियान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट आएको टोलीले दैलेखमा पहिलोपटक १५ सदस्य नागरिक निगरानी समूह गठन गरेको छ । अधिवक्ता दीर्घराज अधिकारीको संयोजकत्वमा गठित समूहले सम्भावित भ्रष्टाचारका क्षेत्रमा खबरदारी गर्ने, सुशासन र पैरवीका काम गर्ने, जनताले गरेका गुनासोलाई जनताकै रोहवरमा पैरवी गर्ने काम गर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले निगरानी समूहले सम्भावित बेइमानीलाई निराकरण गर्ने, खबरदारी गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग नजिकबाट मिलेर काम गर्नसक्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले भ्रष्टाचार नियन्त्रण अभियानमा सरकारी निकायबाट मात्र गाह्रो हुने भएकाले आम नागरिकले सही सूचना प्रदान गरेर, खबरदारी गर्नुपर्ने सुझाव दिनुभयो ।

सुशासन प्रवद्र्धन गर्ने संवैधानिक निकाय, सेवा प्रवाह गर्ने निकायसँगै र नागरिकको सहकार्य प्रभावकारी बनाउनका लागि नागरिक निगरानी केन्द्र गठन गरिएको हो । यो वर्ष मात्रै दैलेखका १८ जनाविरुद्ध विभिन्न विषयमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।  (रासस)

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार १६:२६