सूचनाको शक्ति - The Power Of Information

        

सकियो घरबास सम्मेलन, केन्द्रीय सचिवमा बाँकेका कृष्ण निर्वाचित

बाँके । ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान भन्ने नारासहित ११ बुँदे पिप्रहर घोषणापत्र जारी गर्दै होमस्टे (घरबास) एशोसिएसन नेपालको दोश्रो राष्ट्रिय कार्यशाला गोष्ठी एवं सम्मेलन सकिएको छ ।
सम्मेलनले सम्मेलन नेपाल सरकारसँग संघीय तथा प्रादेशिक होमस्टे सम्बन्धी ऐन तथा कार्यविधि अविलम्ब निर्माण गर्न अपिल गरेको छ । साथै, होमस्टे सम्बन्धी ऐन, नियम तथा कार्यविधि निर्माण गर्दा होमस्टे एशोसिएसनको प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।
देशभरिका होमस्टेको सूचना सम्प्रेषण, बजारिकरण, समन्वय र होमस्टे प्रवद्र्धनका लागि आवश्यक पहलका लागि होमस्टे सूचना केन्द्र स्थापना गर्ने र देशभरका सरकारी तथा गैरसरकारी सरोकारवाला निकायसँग सहकार्य एवं समन्वय गर्दै अघि बढ्ने घोषणा गरेको छ ।
नवलपुरस्थित देवचुली–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टे ग्राममा यही माघ १७ देखि २० गतेसम्म चलेको सम्मेलनले नेपालमा होमस्टे ब्यवसाय माटो सुहाउँदो ब्यवसाय हो भन्ने ठहर गर्दै देशभर होमस्टे सञ्चालनको सम्भावना भएका स्थानहरुमा होमस्टेको प्रवद्र्धनमा जोड दिँदै पर्यटन ब्यवसाय सहकारीतामा आधारित सेवामुलक ब्यवसाय भएको निष्कर्ष निकालेको छ ।
होमस्टेको माध्यमबाट विपन्न ग्रामीण तथा शहरी जीवनको दिगो जीविकोपार्जनमा व्यावहारिक अभ्यास गर्न प्रतिवद्ध रहेका जनाउँदै सम्मेलनले होमस्टे सञ्चालन भएका क्षेत्रहरुमा सुरक्षा, सूचना तथा संञ्चार र आपतकालिन आवश्यकतालाई परिपूर्ति गर्न नेपाल सरकारसँग माग गरेको छ ।
त्यसैगरी आगामी वर्षबाट होमस्टे एशोसिएसन नेपालका संस्थापक अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सम्मानमा स्व.श्यामसुन्दर श्रेष्ठ स्मृति उत्कृष्ट होमस्टे प्रोत्साहन पुरस्कार र होमस्टे संस्थापक स्याङजा सिरुवारीका क्याप्टेन रुद्रमान गुरुङको सम्मानमा स्व.रुद्रमान गुरुङ स्मृति उत्कृष्ट होमस्टे पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।
अन्तर्राष्ट्रियस्तरमा सञ्जाल विस्तार सम्बन्ध विस्तार गर्ने र देशभर रहेका पर्यटनसँग आवद्ध संस्थाहरुको राष्ट्रिय पर्यटन सञ्जाल निर्माण गर्न पहल गर्ने सम्मेलनले कार्यदिशा तय गरेको छ । सम्मेलनले देशभर रहेका होमस्टेहरुको प्रभावकारी अनुगमन गर्न एशोसिएसनका प्रतिनिधिसमेतको सहभागितामा अनुगमन संयन्त्र स्थापनाको लागि सरकारसँग आग्रहसमेत गरेको छ ।
सम्मेलनले दोस्रो राष्ट्रिय कार्याशाला गोष्ठी एवं सम्मेलन भब्यताका साथ सम्पन्न पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अतिथिहरु, होमस्टे प्रतिनिधि, पर्यवेक्षक, स्थानीय ब्यवस्थापक, तारा गाउँ विकास समिति, नेपाल पर्यटन बोर्ड, कम्युनिटी होमस्टे नेटवर्क प्रालि, डब्लुडब्लुएफ, गरिबी निवारण कोष, कावासोती तथा देवचुली नगरपालिका, पत्रकार, सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद दिएको छ ।
देशभरका ४२ जिल्लाका १३१ जना प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनले केशब बडालको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कार्यसमिति पनि चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा यदुमणी निरौला, धनिश्वर बस्याल, बाबुराजा मर्हजन, रामबहादुर चौधरी, शारदा आचार्य, दिलकुमारी राना र कौशिला मैनालीलाई निर्वाचित गरेको छ । कार्यसमितिको महासचिवमा प्रेमशंकर मर्दनिया थारु र सचिवमा गाभर भ्याली सामुदायिक होमस्टे बाँकेका कृष्णलाल चौधरी र कोषाध्यक्षमा सुरज बास्तोलालाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा राजकुमार लामिछाने, मनौष घले, चुडामणी पौडेल, गंगादेवी हाँयजु, एकराज घिमिरे, सुकुमाया लामा, झनकबहादुर महतो, शिवकुमारी लिम्बु, अनिलकुमार रानामगर, शम्भुराम पौडेल, शालिकराम चौधरी, जितबहादुर चौधरी र जमुना चौधरीलाई चयन गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतवार १३:२५