सूचनाको शक्ति - The Power Of Information

        

विद्यालयमा द्वन्द्वकालको झल्को, भग्नावशेष भवन, चौरमा बालबालिका

बाँके । नेपालगन्ज उपमहानगरपालिकासँगै जोडिएको इन्द्रपुर गाउँ, भौगोलिक हिसाबले निकै सुगम छ । झट्ट सोच्ने जो कोहीले पनि सुगमतासँगै विकसित भएको सोच्ने गर्छन् । मधेसी र मुस्लिम समुदायको बसोबास रहेको जानकी गाउँपालिका–३ मा पर्ने इन्द्रपुर गाउँको बीचमा एउटा विद्यालय छ ।
२०१७ सालमा स्थापित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था देख्दा जो कोहीलाई आश्चार्य लाग्ने गर्छ । द्वन्द्वले ग्रस्त बनाएजस्तो देखिने विद्यालय भवन र भवनको भग्नावशेषमा खेलिरहेका बालबालिकालाई देख्दा यहाँ कुनैबेला ठुलै द्वन्द्व भएको र द्वन्द्वका क्रममा विद्यालय भवन भत्किएको आभास हुने गर्छ ।
सोंचेजस्तो त्यहाँ न कुनै द्वन्द्व भयो, न द्वन्द्वकालमा त्यहाँ सुरक्षाकर्मीको ब्यारेक नै थियो । ६ कोठे विद्यालय भवनका चारवटा कोठा भत्काइएको छ । बचेका दुई वटा कोठा पनि चुहिने र जीर्ण छन् । त्यसो त विद्यालयमा फर्निचर पनि छैनन् । कक्षा १ देखि ५ सम्म २०१ जना विद्यार्थीले त्यहाँ अध्ययन गर्ने विद्यालयमा ५ जना शिक्षकमध्ये ४ जना महिला शिक्षक छन् ।

बाँकेको जानकी गाउँपालिका–३, इन्द्रपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । द्वन्द्वले ग्रस्त बनाएजस्तो देखिने विद्यालय भवनको भग्नावशेषमा खेलिरहेका बालबालिका । सडक विस्तारका क्रममा विद्यालय भवन भत्किएपछि विद्यार्थीहरु भुइँमै बसेर बढन बाध्य छन् ।


बचेका दुई वटा कोठामा विद्यालय भवन भत्काउँदा निकालिएका झ्यालढोका एउटा कोठामा थन्काइएका छन् । बचेको एउटा कोठामा कार्यालय राखिएको छ । त्यहाँ पनि विद्यालयका कागजात सुरक्षित भने छैनन् । सामान्य पानी पर्नासाथ छतबाट पानी चुहिएर कागजात जोगाउनै विद्यालयका शिक्षकलाई मुस्किल पर्छ ।
सडक विस्तारका क्रममा विद्यालय भवन भत्काइएपछि बालबालिकालाई ओत लाग्ने ठाउँ छैन । खुला चौरमा भुइँमै बसेर बालबालिका पढिरहेका हुन्छन् । शिक्षक शिक्षिकालाई पढाउने सामाग्रीको उस्तै अभाव छ । विद्यार्थीलाई पढाउनका लागि न कालोपाटी छ, न सेतोपाटी छ, न त चक डस्टर वा बोर्ड मार्कर नै छ । मौखिकरुपमै विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ ।
सडक विस्तारका क्रममा विद्यालयको ५ मीटर जग्गा बाटोले ओगाट्ने भएपछि सो क्षेत्रमा रहेको विद्यालय भवन वैकल्पिक व्यवस्था नगरेर भत्काएपछि समस्या भएको विद्यालयकी प्रधानाध्यापक सरस्वती शर्माले बताइन् । उनले भनिन्, ‘हामीले विकल्पका लागि आग्रह गरे पनि कतै सुनुवाई भएन । अहिले बालबालिकालाई निकै सास्ती भएको छ ।’

बाँकेको जानकी गाउँपालिका–३, इन्द्रपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । द्वन्द्वले ग्रस्त बनाएजस्तो देखिने विद्यालय भवनको भग्नावशेषमा खेलिरहेका बालबालिका । सडक विस्तारका क्रममा विद्यालय भवन भत्किएपछि विद्यार्थीहरु भुइँमै बसेर बढन बाध्य छन् ।


विद्यालय भवन नहुँदा विद्यार्थीहरू पानी परेपछि घर जाने गरेको प्रधानाध्यापक शर्माले बताइन् । ‘गर्मी र बर्षात्को समय नजिकिँदैछ, भवन छैन । बालबालिकालाई कसरी पढाउने ?’ प्रधानाध्यापक शर्माले प्रश्न गर्दै भनिन्, ‘वर्षातको समयमा चौरमा पनि पढाउन सकिने स्थिति छैन । नयाँ शैक्षिक शत्र पनि नजिकिँदैछ, विद्यार्थीलाई कसरी विद्यालय भर्ना गर्ने ?’
सडक निर्माणले विद्यालय नै विस्थापित हुने खतरा रहेको प्रधानाध्यापकको भनाई छ । ‘विद्यालय भवन भत्काउनुअघि नै हामीले वैकल्पिक व्यवस्थाका लागि वडा कार्यालय र गाउँपालिकाको ध्यानाकर्षण गराए पनि सुनुवाई भएन । बालबालिकाको समस्यालाई सरोकारवालाले निकायले नै ध्यान नदिएपछि पढाई नै प्रभावित भइरहेको छ,’ प्रधानाध्यापक शर्माले भनिन् ।
भवन अभावमा बालबालिकालाई सहजरुपमा विद्यालयमा पढ्ने वातावरण नभएको शिक्षिका मुगा लम्सालले बताइन् । ‘भवन भत्काएको तीन महिना वितिसक्यो वडा कार्यालय र गाउँपालिकाले नै चासो दिएन,’ शिक्षिका लम्सालले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति, विद्यालयका श्रोतव्यक्ति र विद्यालय निरिक्षकसँग पनि पटक पटक वैकल्पिक व्यवस्था गर्न आग्रह गरे पनि सुनुवाई भएन ।’

बाँकेको जानकी गाउँपालिका–३, इन्द्रपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । द्वन्द्वले ग्रस्त बनाएजस्तो देखिने विद्यालय भवनको भग्नावशेषमा खेलिरहेका बालबालिका । सडक विस्तारका क्रममा विद्यालय भवन भत्किएपछि विद्यार्थीहरु भुइँमै बसेर बढन बाध्य छन् ।


भएको भवन पनि भत्किनु र अन्य पूर्वाधार नहुँदा वातावरण प्रतिकूल भएका कारण आगामी शैक्षिक सत्रमा विद्यार्थी संख्या घट्ने चिन्ता विद्यालयका शिक्षक शिक्षकाहरुलाई चिन्ता थपिएको छ । भौतिक पूर्वाधारकै अभावमा सबै बालबालिकालाई एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयकी शिक्षिका लम्सालले बताइन् ।
जानकी गाउँपालिका–३ का वडाध्यक्ष विन्देश्वरी कुर्मी बर्माले सडक विस्तार गर्ने क्रममा विद्यालय भवन भत्काउनु परेको बाध्यता सुनाउँदै भने, ‘बालबालिकाका लागि गाउँपालिकामार्फत त्रिपालको व्यवस्था गर्न लागुपरेको छु । अब छिट्टै त्रिपाल ल्याएर घाम र पानीबाट बालबालिकालाई ओत लाग्ने व्यवस्था हुँदैछ ।’

नेपाल राष्ट्रिय प्राथमिक विद्यालयकी प्रधानाध्यापक सरस्वती शर्मा यस्तो भन्छिन् (भिडियो) :

प्रकाशित मिति : १३ माघ २०७५, आइतवार १५:४४