सूचनाको शक्ति - The Power Of Information

        

कला कोर्दै समुद्रदेखि पहाड हुँदै हिमालसम्म क्षेत्रलाल

वासुदेव पौडेल । पोखरा ।
‘आफ आफैँ कोरिंदै जाने यी रंगका रेखाहरू
हात खुट्टा त के शरीरै बिना पनि
मुटुको स्पन्दनमा बाँचिरहने
किंवदन्त्यको कथा हो कि
एउटा कलाकार ।’
उमेरले ७६ वर्ष लागिसकेका पोखरेली कलाकार क्षेत्रलाल कायस्थको कलाकारिता समेटेर सन् २००७ मा प्रकाशित ‘द एडभेन्चर अफ मोर्डन आर्ट’ पुस्तकमा उनी स्वयंले कवितामार्फत व्यक्त गरेको कलाकार प्रतिको स्पष्टोक्ति हो यो । जीवन जगतका प्रत्यक्ष एवं अप्रत्यक्ष वास्तविकता र भोगाइलाई कलाका माध्यमबाट प्रस्तुत गर्ने कायस्थ अहिले पनि उत्तिकै कला साधनामा तल्लिन छन् ।
आफ्नो चुलबुले बाल्यकालमा ढुङ्गाका छपनीमा चित्र कोर्दै कलाप्रति लोभिएका कायस्थले यसबीचमा अष्टे«लियाको समुद्री किनारादेखि उपल्लो मुस्ताङको लोमन्थाङलगायतका हिमाली स्थानमा समेत बसी कला सिर्जना गरिसकेका छन् । पिता जुद्धलाल र माता धाँतीमायाबाट सन् १९४६ नोभेम्बर १७ मा जन्मेका कायस्थले भारत, बङ्गलादेश लगायतका देशमा त्यही पुगेर कला सिर्जना गरिसकेका छन् ।
हालसम्म १२ औं एकल चित्रकला प्रदर्शनी गरिसकेका कायस्थका साना ठूला गरी भण्डै एक हजारभन्दा बढी कला सिर्जना तयार भैसकेका छन् । पहिलोपटक २०२० सालमा जल रङ्गमा तयार गरेको गौरीघाट पोखराको परिवेशमा गाग्री बोकेर आएकी महिलाको तस्वीर आफ्नो औपचारिक कलायात्राको पहिलो प्रस्तुति भएको बताउँदै उनले प्रकृति, सामाजिक जीवनका यावत पक्षलाई कलामा कोर्ने गरेको अनुभव सुनाए ।
‘म कतै घुम्न जाँदा मन छुने कुनै दृश्य देखें भने त्यहीँ घोत्लिएर कला कोर्न मन लाग्ने गर्दछ, तत्कालै कोर्न बस्छु पनि,’ आफ्नो अनुभव सुनाउँदै उनले भने । उपल्लो मुस्ताङ जाँदा त्यहाँका प्रकृतिका विविध पक्षले आफ्नो मनलाई खिचेको बताउँदै उनले त्यहाँका रङ्गीविरङ्गी पहाड र भूबनोटलाई आफ्ना कलामा चित्रित गरेको बताए । अष्ट्रेलियाको दुई महिनाको घुमाइमा उनले त्यहाँका ब्ल्यु माउन्टेनस्थित थ्री सिस्टर लगायतका स्थान परिवेशलाई कलामा कोरेका छन् ।
यसबीचमा छोम्रोङ, घान्द्रुक, ल्वाङघलेल, सिक्लेस, पर्वतीय सङ्ग्रहालय, भुज्रुङलगायतका स्थानमा पुगी त्यहीँ बसेर कला साधना गरिसकेका छन् । विसं २०३०÷३२ तिर दुर्गा बराल, बुद्धि गुरुङ, गोपाल श्रेष्ठ, आलोक गुरुङलगायतका कलाकारको संगतमा आएका कायस्थले २०४० सालमा आलोक, बुद्धि, महेन्द्रराज भण्डारी लगायतसँग सामूहिक रुपमा घान्द्रुकमा पुगी कला सिर्जना गरेका थिए । त्यस यता व्यक्तिगत एवम् सामूहिक रुपमा ठाउँठाउँमा पुगी कला कोरेको उनको अनुभव छ ।
विसं २०२८ देखि निरन्तर ३५ वर्ष पृथ्वीनारायण क्याम्पसमा प्रशासनतर्फ सेवा गरेका कायस्थ सन् १९९८ (विसं २०५५तिर) ललितकला सान्त्वना पुरस्कार, सन् २००० (विसं २०५७ तिर) राष्ट्रिय प्रतिभा पुरस्कार, २००१ (विसं २०५८ तिर) ललितकला पुरस्कारका साथै सन् २०१३ (विसं २०७० तिर) रोटरी क्लब अफ पोखरा फिष्टेलबाट भोकेशनल अवार्ड लगायतबाट सम्मानित भइसकेका छन् । कायस्थको निरन्तरको कला साधनालाई दृष्टिगत गरी उनका छोराहरू नीरज, सुरज र सरोजसहित परिवारजनको विशेष सक्रियतामा कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान समेत गठन गरिएको छ ।
प्रतिष्ठानमार्फत पोखराका बालमन्दिर, कन्या, ज्ञानभूमी, नविन, महेन्द्र र नवप्रभात स्कुलमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई कला सिकाउनका लागि दुई जना कला शिक्षकको व्यवस्था गरिएको छ । कला शिक्षकको सम्पूर्ण पारिश्रमिक प्रतिष्ठानले व्यहोर्ने र उनीहरूले प्रत्येक विद्यालयमा हप्ताको एक दिन कला विषयको कक्षा लिने व्यवस्था मिलाइएको छ । कायस्थको आगामी फागुन महिनामा कला सिकेका तिनै विद्यालयका विद्यार्थीसँग सामूहिक कला प्रदर्शनी गर्ने योजना पनि छ ।
कला क्षेत्रको विकासका लागि काम गर्ने ध्येयका साथ स्थापित प्रतिष्ठानले कला शिक्षाको विकास लगायतका क्षेत्रमा आफ्नो कामहरू थालिसकेको प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङले बताए । कला क्षेत्रको विकासलाई लक्ष्य गरी प्रत्येक दुई वर्षका बीचमा रु ५० हजारको पुरस्कारसहित कला साधकलाई सम्मान गर्ने लक्ष्य राखेकोमा उक्त सम्मान अर्को वर्षको मङ्सिरमा गर्ने प्रतिष्ठानले जनाएको छ । रासस

प्रकाशित मिति : २२ पुष २०७५, आइतवार १२:४५