सूचनाको शक्ति - The Power Of Information

        

कुखुराको खुट्टा भाँचिएपछि हिरासतमा !

बाँके । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
गत मंङ्सिर २४ गते ढुंगाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरुबीच कुरा मिल्न सकेको थिएन ।
प्रहरी कार्यालयमा भएको छलफल अनुसार मुद्दा दिने रफिकलाई कुखुराको मुल्य लिएर मिल्न र अकबाललाई कुखुराको मुल्य तिरेर लैजान सुझाव दिए पनि दुबैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो ।
घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले भने अभद्र ब्यवहार गरेको अभियोगमा अकबालमाथि मुद्दा चलाइएको बताए । प्रहरीले दुबै पक्षलाई पटकपटक राखेर मिलाउने प्रयास गरेपनि सहमति हुन सकेको थिएन ।
प्रहरी उपरीक्षक पौडेलले अकबाललाई कुखुराको खुट्टा भाँचेको आरोपमा नभई अभद्र ब्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको बताए । नागरिक अगुवाहरुले स्थानीय तहको न्यायीक समितिले हेर्नुपर्ने विषयमा प्रहरी अनावश्यकरुपमा फसेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार ०९:३६