सूचनाको शक्ति - The Power Of Information

        

रक्तस्राव नरोकिएपछि जहाज चार्टर गरेर नेपालगन्ज

जाजरकोट । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका–३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिएकी भेरी नगरपालिका–३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट आज बिहान नेपालगन्ज ल्याइएको उनका श्रीमान् पदम थापाले जानकारी दिए ।
अहिले प्रतिभाको उपचार जारी रहेको उनले बताए । रु दुई लाख तिरेर जहाज चार्टर गरिएको थियो । बिहीबार मात्र जाजरकोट ल्याइएकी प्रतिभाको रातिदेखि रक्तस्राव शुरु भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि ज्यान बचाउन जहाज चार्टर गर्नुपरेको थापाले बताए । पचास शैय्याको जाजरकोट अस्पताल भए पनि विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सधैँ यहाँका स्थानीयवासी महङ्गो शुल्क तिरेर नेपालगन्ज तथा काठमाडौँमा उपचारका लागि आउन बाध्य छन् ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १५:२४